२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राहत लिएर सांसद् घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष पौडेल जाजरकोटमा

सोमवार , कार्तिक २०, २०८०

जाजरकोट, २० कार्तिक । 
रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन् । कार्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दू भएर गएको भूकम्पबाट पीडितहरुको लागि राहत सामग्री लिएर सांसद् घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।

भूकम्प भएको भोलिपल्ट नै त्यसतर्फ प्रस्थान गरेका सांसद् घिमिरे र गाउँपालिका अध्यक्ष पौडेलले कार्तिक १९ गते भूकम्पपीडितको लागि राहतको लागि चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबीन, दालमोटलगायतका विभिन्न खाद्य सामग्री प्रदान गरेका हुन् ।

एकद्वार प्रणालीमार्फत् राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको  सांसद् घिमिरेले जानकारी दिए । सांसद् घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष पौडेलले रुकुम पश्चिमका भूकम्पपीडितलाई समेत राहत प्रदान गरिने जानकारी दिए । पीडितलाई तत्काल खाद्यसहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकै भोलिपल्ट भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

राहतको घोषणा अन्य पालिकाहरुले गरे पनि स्वयं राहत लिएर गाउँपालिका अध्यक्ष पौडेल र आफ्नो व्यक्तिगत तर्फबाट पीडितलाई राहत दिन सांसद् घिमिरे भूकम्पप्रभावित क्षेत्रमा पुगेका हुन् । त्यसक्रममा सांसद् घिमिरे र गाउँपालिका अध्यक्षले भूकम्पबाट घाइते भएकोहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका छन् । जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उनीहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

यस्तै उनीहरुले सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भूकम्पबाट भएको क्षति, उद्वार र राहत वितरणको बारेमा जानकारी समेत लिएका छन् । साथै उनीहरुले भूकम्पप्रभावित क्षेत्रहरुको समेत स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकनपछि सांसद घिमिरेले अब भूकम्पपीडितलाई राहत र पुननिर्माणको आवश्यकता बढी रहेको महसुस भएको बताए । घाइतेहरुको उपचारमा खास समस्या रहेको नपाइएको बताउँदै सांसद् घिमिरेले अब सबैको ध्यान भूकम्पपीडितको पुनःस्थापनामा केन्द्रीत हुनुपर्नेमा जोड दिए । राहत वितरण प्रणाली एकद्वार प्रणालीबाट गरिनु सकारात्मक रहेको उनको भनाइ छ ।