
सोमवार , कार्तिक २०, २०८०
बुटवल, २० कार्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । आइतबार दिउँसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एकट्रक सामान जाजरकोट पठाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उपमहानगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णयअनुसार नगरप्रमुख पाण्डेयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गरे ।
राहत सामग्री हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप ५ लाख रुपैयाँ र कर्मचारीकोतर्फबाट समेत सहयोग गर्ने निर्णय भएको बताए । उनले बुटवलले बुटवलभित्रका संस्थाहरुलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरे । अव्यवस्थित रुपमा राहत सामग्री पठाउँदा वास्तविक प्रभावितसम्म पुग्न नसकेको र अन्योल सिर्जना भएको खबरअनुसार एकीकृत रुपमा राहत सामग्री संकलन गरी पठाउने व्यवस्था मिलाइएको प्रमुख पाण्डेयले बताए ।
राहत सामग्री लिएर बुटवल उपमहानगरपालिकाका दुईजना कर्मचारी र २ जना पत्रकार जाजरकोट प्रस्थान गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बताए । उनले अहिले बुटवल उपमहानगरपालिकाकै श्रोतबाट एकट्रक राहत सामग्री पठाइएको र बुटवलका संघ–संस्थाहरुको राहत सामग्री संकलन भएपछि पुनः सामग्री पठाउने बताए ।
बुटवल उपमहानगरपालिकाले बुटवलका संघ–संस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ । जसका लागि उपमहानगरपालिकाले विपद शाखा प्रमुख योगेश चापागाईंलाई फोकलपर्सन तोकेको छ ।
बुटवल उपमहानगरपालिकाको आह्वानमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रा.लि. बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै मासु व्यवसायी संघ, रेडक्रस सोसाइटीलगायतका संस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij