
सोमवार , कार्तिक २०, २०८०
भैरहवा, २० कार्तिक ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको कार्यालयले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पपीडितहरुको राहत तथा पुर्नस्थापन लगायत कार्यका लागि ५ लाख बराबरको सामाग्री सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए ।
कार्तिक १७ गते शुक्रबार राती ११ ४७ बजेको समयमा गएको भुकम्पले बढी क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुका लागि विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार ५ लाख रुपैयाँको सहयोग सामग्री प्रदान निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरीले जानकारी दिए ।
त्यस्तै बैठकले गाउँपालिकाका जनप्रतिनिधिले १० दिनको सुविधा र कार्यालयमा कार्यरत कर्मचारीहरुले १ दिन बराबरको पारिश्रमिक जिल्लाको विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए । भुकम्पले मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij