२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

पुरा परिमाणमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

मंगलवार , कार्तिक २१, २०८०

बुटवल, २१ कार्तिक । 
पेट्रोलियम व्यवसायीहरुले पुरा परिमाणमा इन्धन उपलब्ध गराउन नेपाल आयल निगमसँग माग गरेका छन् । व्यवसायीले निगमलाई भुक्तानी गरेको रकम भन्दा कम परिमाणमा इन्धन उपलब्ध हुने गरेको भन्दै यसलाई सुधार गरी पुरा परिमाणमा इन्धन उपलब्ध गराउन माग गरेका हुन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले नेपाल आयल निगम र गुणस्तर तथा नापतौल कार्यालयका नयाँ प्रमुखको सम्मानमा आयोजना गरेको स्वागत, परिचयात्मक तथा बिदाई कार्यक्रममा सहभागि व्यवसायीहरुले पेट्रोलियम व्यवसायी आयल निगमको उपभोक्ता भएकाले निगमले उपभोक्तामैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले जनता पेट्रोलियम व्यवसायीका उपभोक्ता भए जस्तै व्यवसायीहरु आयल निगमका उपभोक्ता भएकाले मूल्यअनुसार पुरा परिमाणमा इन्धन पाउनुपर्ने माग गरे । कुनै व्यवसायीले गल्ती गरेमा आम व्यवसायीलाई नै खराब दृष्टिकोणले हेर्न नहुने भन्दै सांसद जयसवालले गुण र दोषका आधारमा पुरस्कार र दण्ड जरिवानाको व्यवस्था हुनुपर्ने उल्लेख गरे ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेले रड राखेर इन्धनको परिमाण मापन गर्ने परम्पराको अन्त्य गरी फ्लो मिटरमार्फत इन्धन उपलब्ध गराउन माग गरे । नेपाल र भारतमा इन्धनको मूल्य फरक भएका कारण चोरी तस्करी बढेकाले अनुगमन कार्यलाई प्रभावकारी गराउन माग गर्दै एशोसिएसनले गलत गर्ने व्यवसायीको पक्षपोषण नगर्ने उनले बताए ।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा सरुवा भएर आएकी कार्यालय प्रमुख कमला न्यौपानेले पेट्रोलियम व्यवसायी निगमका सहयात्री भएकाले साथ र सहयोगको अपेक्षा गर्दै व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताइन् । उनले फ्लो मिटर अहिलेको आवश्यकता भएकाले यसै आर्थिक वर्षदेखि सुरु गर्ने गरी कार्य अगाडी बढेको बताइन् ।

कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले पेट्रोलियम पदार्थ अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले व्यवसायिक सुरक्षा र उपभोक्ता हितका लागि नियमन जरुरी रहेको भन्दै व्यवसायिक हित र संरक्षणका क्षेत्रमा काम गर्ने बताए । केही ब्यवसायीको गलत आचरणका कारण पेशा नै बदनाम हुने भएकाले गलत आचरण सुधार गर्न सकेमा व्यवसायप्रतिको विश्वसनियता बढ्ने बताए  ।

कार्यक्रममा  पेट्रोलियम डिलर्स एशोसिएसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपाने, पेट्रोलियम व्यवसायी चोपनारायण श्रेष्ठ, एशोसिएसनका महासचिव हरिराम कसौधनलगायतले बोल्दै निगम र सरकार बिना लगानी मुनाफा खाने व्यवसायिक साझेदार भएपनि व्यवसायिक हित र संरक्षणका क्षेत्रमा कुनै काम नगरेको गुनासो गरे ।

सो अवसरमा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीमा सरुवा भएर आएकी कार्यालय प्रमुख कमला न्यौपाने र गुणस्तर तथा नापतौल कार्यालय बुटलका प्रमुख तिलक केसीलाई स्वागत तथा आयल निगम भलवारीवाट काठमाडौं केन्द्रीय कार्यालयमा सरुवा भइ जान लागेका ईन्जिनियर जगदिशचन्द्र यादवलाई एशोसिएसनले विदाई गरेको हो ।