२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भुकम्पपीडितका लागि सिद्धार्थनगरमा ‘न्यानो माया’ अभियान

मंगलवार , कार्तिक २१, २०८०

भैरहवा, २१ कार्तिक ।
भुकम्प पीडितहरुको सहयोगार्थका लागि रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) मा ‘न्यानो माया’ अभियान सञ्चालन गरिएको छ । जाडो सुरु भएसँगै पीडितहरुलाई न्यानो कपडा आवश्यक पर्न सक्ने भएकोले लत्ताकपडा संकलनका लागि भैरहवामा ‘न्यानो माया’ अभियान सञ्चालन गरिएको हो । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको नेतृत्वमा शहरमा लत्ताकपडा संकलन भइरहेको छ ।

सर्वसाधारणहरुले नयाँ र प्रयोग भएका (प्रयोग गर्न सकिने) दुवै प्रकारका लत्ताकपडा सफा गरी उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको नगर उपप्रमुख अधिकारीले बताइन् । उनले योजना बनाएर समाजिक सञ्जाल फेसबुकमार्फत अपील गरेपछि सर्वसाधारणले आफूखुशी नयाँ र प्रयोग गर्न सकिने सफा तथा राम्रा कपडाहरु उपलब्ध गराउन सुरु भएको हो ।

‘म पहिला पनि खेलकुदको माध्यमबाट जाजरकोट पुगेको छु, निकै विकट क्षेत्रहरु छन् र त्यहाँ बालबालिकालगायत अन्यलाई कपडा आवश्यकता महसुस गरेको थिए’ उनले भनिन्, ‘भुकम्पका कारण पीडितहरु थप बिच्चली परेकोले समस्यालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरेका हौं ।’

अभियान सञ्चालन भएसँगै भैरहवाका सर्वसाधारणले नयाँ र पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडाहरु संकलन केन्द्रमा पुर्याउन थालेका छन् । पीडितहरुले उक्त लत्ताकपडा लगाउँदा असहजता महसुस (च्यातिएको लगायत) नहोस् भन्ने उद्देश्यले सफा गरी प्याक गरेर उपलब्ध गराउन आग्रह गरिएको छ ।उनले आइतबार बिहानदेखि सुरु भएको अभियान अन्तर्गत आइतबार साँझसम्म संकलन भएको ३५ बोरा कपडा नगरपालिका कार्यालयको राहतसँगै भुकम्प प्रभावित जिल्लामा पठाइएको बताइन् ।‘भुकम्पका कारण त्यहाँका सर्वसाधारणहरु साह्रै समस्यामा छन्’ उनले भनिन्, ‘हाम्रो सानो प्रयासले त्यहाँका पालिकाका प्रभावित परिवारहरुलाई राहत पुग्न सक्छ ।’

सबै उमेर समूहलाई हुने खालका कपडाहरु प्राप्त भइरहेका कपडा संकलन केन्द्रमा संयोजकको रुपमा खटिएका स्थानीय युवा विवेक भण्डारीले बताए । ‘आह्वानपछि अहिले भैरहवा, बुटवल, लुम्बिनी लगायत विभिन्न स्थानबाट कपडाहरु प्राप्त भइरहेको छ’ भण्डारीले भने, ‘त्यसपछि हामीले व्यवस्थित रुपमा नगरपालिका मार्फत जिल्ला व्यवस्थापन समितिको समन्वय प्रभावित क्षेत्रमा पठाइरहेका छौँ ।’

उनले थपे, ‘केहीले कपडा संकलन केन्द्रको रुपमा तोकिएको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पताल चोकमा आफै ल्याएर दिइरहेका छन् भने केही फोन सम्पर्क गरी लिन बोलाएको अवस्थामा हामी आफै गएर ल्याउने काम गरिरहेका छौं ।’ उनकाअनुसार कसैले खरिद नयाँ र कसैले पुनः प्रयोग गर्न मिल्ने कपडा सफा गरेर उपलब्ध गराइरहेका छन् ।

kapda photo (2).jpg
undefined

नयाँ र प्रयोग गर्न मिल्ने कपडासँगै सर्वसाधारणले प्रयोग गर्न नमिल्ने/च्यातिएको फोहोर कपडाहरु पनि उपलब्ध गराइरहेकोले त्यस्ता कपडाहरु भुकम्पप्रभावित जिल्लामा नपठाइने र उपलब्ध समेत नगराउन उपप्रमुख अधिकारीले आग्रह गरेकी छिन् ।

एक महिनाको सुविधा पनि प्रदान

भुकम्पपीडितहरुको सहयोगार्थका लागि उपप्रमुख अधिकारीले आफूले पाउने एक महिनाको सुविधा प्रदान गर्ने बताएकी छिन् । उनको पाउँदै आएको मासिक ३३ हजार रुपैयाँ भुकम्पपीडितलाई प्रदान गर्ने घोषणा गरेकी छन् ।

सिद्धार्थनगर नगरपालिकाको कार्यालय, जनप्रतिनिधि र कर्मचारीबाट सुविधा–पारिश्रमिक गरी कुल २२ लाख ५४ हजार ५ सय रुपैयाँ पठाइने कार्यालयले जनाएको छ । 

त्यस्तै जाजरकोट जिल्ला नगरपालिकाको कार्यालयसँगै विभिन्न संघ–संस्थाको सहयोगमा चामल, चाउचाउ, कम्बल, सिरक, फुरनदाना, लत्ताकपडा लगायत एक ट्रक सामग्री जिल्ला विपद् व्यवस्थापन समिति, रुपन्देहीलाई हस्तान्तरण गरी पठाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।