
बुधवार , कार्तिक २२, २०८०
नेपालगंज, २२ कार्तिक ।
यही शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैछ ।
कार्तिक २४ गते हुने कन्सर्टको तयारी तीव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक हुन सुनिल सिंह ठकुरी ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए ।
कालपृष्ठ दैनिकका सञ्चालक एवम् कन्सर्ट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ दैनिकले कन्सर्ट आयोजना गरेको बताए ।
‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगंजमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्सर्टबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ खत्रीले भने ।
कन्सर्ट सुनिलसँगै करिब एक दशकदेखि नेपालगंजमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउनेछन् ।
नेपालगंज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्सर्ट प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए। उनले कार्यक्रम स्थलमा फूड स्टलसमेत राखिने बताए ।
उक्त कन्सर्टले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए ।
सो कन्सर्टको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगंज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाइन पोर्टल रहेको छ । कन्सर्ट नेपालगंज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।
हालसम्म कन्सर्ट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ ।
गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’ गीत १० औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।
सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, साँस्कृतिक र सामाजिक पक्षको प्रचारप्रसारमा योगदान गरेको भन्दै जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij