
बुधवार , कार्तिक २२, २०८०
भैरहवा, २२ कार्तिक ।
भुकम्पप्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बुधबार कोष अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कोषकातर्फबाट भुकम्पप्रभावितहरुलाई तत्काल राहतका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेको उपाध्यक्ष डा. लामाले बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेका कोषसहित पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, पर्यटन बोर्डबाट प्राप्त ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रूपैयाँ भुकम्पपीडित राहत कोषमा जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी विकास कोषले सचिवालय बैठकमार्फत भुकम्पप्रभावितहरूलाई राहत लागि सहयोग गर्ने निर्णय गरेको थियो । कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij