
बिहिवार , कार्तिक २३, २०८०
तिलोत्तमा, २३ कार्तिक ।
तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८०’ हुने भएको छ । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं विक्री हुने आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने तिलोत्तमा उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको मेला मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले बताए ।
मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने अध्यक्ष भण्डारीले बताए ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका ३ सय स्टलहरू रहने छन् । मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।
मेला सञ्चालनका संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) को संयोजकत्वमा ५५५ सदस्यीय मूल समिति, सल्लाहकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ । तिलोत्तमा–५ स्थित मणिग्राममा सञ्चालन हुने महोत्सवका लागि प्रदर्शनी स्थलमा
सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने स्टल, गेट तथा अन्य निर्माणको काम भइरहेको छ । मेला सफलतापूर्वक सञ्चालन गर्न मेला मूल आयोजक समितिले यस क्षेत्रका राजनीतिक दल, संघ–संस्था, उद्योगी, व्यवसायी, क्लब, आमा समूह, टोल विकास संस्था, विद्यालय, सुरक्षा निकायलगायतसँग छलफल तथा सुझाव संकलन गर्ने कार्य गरिरहेको र मेला सम्पन्न गर्न संघका महासचिव राजकुमार पाण्डेले बताए ।
मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघस–ंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी एवं आम नागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले विश्वास लिएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij