
शुक्रवार , कार्तिक २४, २०८०
रुपन्देही, २४ कार्तिक । लुम्बिनी केबलकार लि.ले दशैं, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी ल्याएको चाडपर्व अफर सकिन लाग्दा पर्यटकको चाप बढ्दै गएको छ । असोज २१ गतेदेखि शनिबारबाहेकका दिनहरुमा लागू भएको यो अफरमा कार्तिक २३ गतेसम्म २५ हजार ७ सय ७७ जनाले केबलकार चढेको कम्पनीले जनाएको छ ।
साविक ७५० रुपैयाँको टिकटदरमा ४० प्रतिशत छुट दिइ टिकटदर ४ सय ५० रूपैयाँ कायम भएपछि चाडपर्वको विदामा परिवारसहित केबलकार चढ्ने संख्या बढेको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।
टिकटदरमा छुटसँगै केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेण्टका हरेक परिकारमा पनि कम्पनीले १० प्रतिशत छुट दिएको छ । अफरको फाइदा उठाउँदै एकैदिन ३ हजार ५ सय जनासम्म केबलकार चढेका सैजूले बताए । खास गरी विद्यालय, क्याम्पस, संघ–संसस्थाबाट समूहमा केबलकार चढ्न आउने गरेको उनको भनाइ छ ।
‘चाडपर्वका अवसरमा सर्वसाधारणलाई परिवारसहित सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्षदेखि पुजा हुँदै आएको दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले ल्याइएको अफरमा आन्तरिक र बाह्य पर्यटकको उत्साहजनक उपस्थिति भइरहेको छ’– केबलकारका अपरेसन म्यानेजर सैंजूले भने–‘अफर मंसिर ३ गते छठसम्म मात्रै बाँकी रहेकाले यो अवसरको फाइदा सबैले उठाउन् भन्ने हाम्रो आग्रह छ ।’
आइएमई ग्रुपको मुख्य हिस्सा र स्थानीयको समेत कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ देखि सञ्चालनमा आएको थियो । जेठ १५ देखि कार्तिक १५ सम्म ५ महिनामा १ लाख २ हजार ७९ जनाले केबलकारको यात्रा गरेको कम्पनीले जनाएको छ ।
टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिरको दर्शन गर्न नेपालसहित भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शनले श्रद्धालु भक्तजनका मनोकामना पूरा हुने र दुख एवं संकट मोचन हुने धार्मिक विश्वास छ ।
कम्पनीले टप स्टेसनमा ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ । स्वच्छ र शान्त वातावरणको बसन्तपुरबाट बुटवलसहित भैरहवासम्म र हिमालको दृश्यावलोकन गर्न पाइने हिल स्टेशन भएकाले जीपलाइन भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । यस्तै साढे ३ अर्ब लगानीमा १५० कोठा, १ हजार जना क्षमताको ब्याङक्वेट हल, क्यासिनो र स्वीमिङ पुलसहित पाँचतारे होटेल पनि बनाउने तयारी छ ।
करिब १ सय जनालाई रोजगारी दिएको केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको छ । उक्त रकम २ पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँट गर्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij