२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मंसिर १ देखि तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला

शनिवार , कार्तिक २५, २०८०

भैरहवा, २५ कार्तिक ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर १ देखि मंसिर १२ गतेसम्म तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०८० हुने भएको छ । । ‘सवल अर्थतन्त्रको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ महोत्सव हुने आयोजकले शुक्रबार तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित मेलास्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

मेलामा ५ लाख दर्शकले मेलाको अवलोकन गर्ने र मेला अवधिभित्र करिब १५ करोडको कारोबार हुने अनुमान गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक गुणनिधि भण्डारी (माधव) ले बताए । १२ दिनसम्म सञ्चालन गरिने मेलाको प्रमुख आकर्षणको रुपमा विगतमा जस्तै परम्परागत शैलीको उखु पेल्ने र खुदो बनाउने उपकरण राखिने भण्डारीले बताए । 

‘नेपाली कला, संस्कृति, भेषभुषा संरक्षणका लागि विभिन्न जातजातीका भेषभुषामा नृत्य प्रतियोगिता, जी बब, मिष्टर डी, मिष्टर र्यापर आफिम, र्यापर लाहुरे, तिलोत्तमा लोक आइडल सिजन टु, राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको साँस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स आइकन, लगायतका प्रतियोगिता गराइनेछ, ’उनले भने ।

मेला अवलोकनका लागि ८० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको उनले बताए । त्यस्तै विद्यार्थीलाई परिचयपत्रको आधारमा रु. ४० र ७० वर्ष माथिका ज्येष्ठ नागरिक र ५ वर्षमुनीका बालबालिका तथा अपांगता भएका नागरिकलाई मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको भण्डारीले जानकारी दिए । विक्री भएको टिकटको ५ प्रतिशत सकम सामाजिक सुरक्षा कोषका लागि छुट्टाइने उनले बताए ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायत विभिन्न प्रकृतिका ३ सय स्टलहरू रहने आयोजकले जनाएका छन् ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं विक्री हुने भण्डारीको भनाइ छ । यस क्षेत्रका व्यवसायिक माछापालक किसानहरुले लाभ उठाउन सकुन भन्ने उद्देश्यले मेला परिसरमा माछा पोखरी तथा माछा पालन सम्बन्धी जानकारी गराउन छुट्टै स्टल राखिने उनले बताए । 

‘सरकारले तिलोत्तमा नगरपालिका घोषणा गरेलगत्तै २०७१ सालमा स्थापित तिलोत्तमा उद्योग वाणिज्य संघले २०७३ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रो औद्योगिक व्यापार मेला गरेको थियो । त्यसको अनुभव र सिकाईबाट अहिले त्यसैको परिस्कृत रुपमा तेस्रो औद्योगिक व्यापार मेला गर्न लागिएको छ, ’उनले भने ।