२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्धपरिपथको विकासका लागि सहकार्य गर्न समझदारी

मंगलवार , कार्तिक २८, २०८०

भैरहवा, २८ कार्तिक ।
बुद्ध जन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासिय नेपाली संघ (एनआरएन) एंव सरोकारवाला संस्थाहरुविच सहकार्य गर्न सहमति जुटेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, लुम्बिनी विकास कोष एवं अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) सहित सरोकारवालाहरुको उपस्थितिमा बसेको प्रत्यक्ष र अनलाईन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो । ।

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र बुद्ध परिपथको पर्यटन प्रवद्र्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, यूरोप लगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरुको संस्थाहरुबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।

बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीेय पालिकाहरुसहितको सहकार्यले आगामि दिनमा थप सहज बनाउने बताए । उनले लुम्बिनी विकास कोषले अन्र्तराष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) हरुसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार प्रसार गर्ने नीति लिएको बताउँदै अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए । उनले विदेशमा गएका प्रत्येक नेपालीहरुले लुम्बिनीमा एक जना विदेशी पर्यटन पठाउने जिम्मा लिदा पनि पर्यटन प्रवद्र्धन हुने बताए । बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी साँस्कृतिक नगरपालिकाहरुले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्वीक स्थलहरुमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए ।

बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसारको खाँचो रहेको बताए । उनले लुम्बिनी विकास कोषसँगै लुम्बिनीको प्रवद्र्धनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै बुद्धपरिपथसँग जोडिएका रामग्राम, कपिलबस्तु र देवदह नगरपालिकासँगै गैरआवासीय नेपाली, होटल व्यवसायी, अन्य सरोकारवालाहरुबीच सहकार्य आवश्यक रहेको बताए ।

बैठकमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धु्रव प्रसाद खरेल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिए । उनीहरुले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरुको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

त्यसै गरी बैठकमा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष नेत्र प्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली संघ अमेरिका (एनआरएनए) का उपमहासचिव सोमनाथ सापकोटा,  नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले लुम्बिनी र बुद्धको प्रचार र बुद्धपरिपथको पर्यटन प्रवद्र्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरेका थिए ।
बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष गोविन्द प्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दीक्षीत लगायतले लुम्बिनीसँग सम्बन्धित भ्रमहरु चिर्दै पर्यटकको बसाई अवधी लब्याउनुपर्ने बताए ।

बैठकले बुद्धपरिपथको अन्तर्राष्ट्रियस्तरमा प्रचार, पर्यटन प्रवद्र्धन, विकास र सहयोग आदानप्रदान गर्न अन्तर्राष्ट्रियस्तरको समन्वय र सहजीकरण गर्न यूरोप नेपाल चेम्बर अफ कमर्श फर टुरीजम, अन्र्तराष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) , आइसीसी, एनआरएनए, एएनए, यूएसए, नेपाली समाज टेक्सास यूएसए, नेपाली साँस्ृकतिक तथा आध्यात्मिक केन्द्र, इन्द्रेणी साँस्कृतिक संघ टेक्सास, लुम्बिनी सेवा समाज टेक्सासलगायतका संस्थाका पदाधिकारीहरुलाई अनुरोध गर्ने सहमति भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले जानकारी दिए ।