२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पर्यटन र खेल एक–अर्काका परिपूरक हुन् : मन्त्री पाण्डेय

बुधवार , कार्तिक २९, २०८०

भैरहवा, २९ कार्तिक ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटन र खेल एक–अर्काका परिपूरक भएको बताएका छन् । उनले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउन चाहेको बताए ।

मंगलबार चित्रांश युथ क्लबको आयोजना तथा श्री चित्रगुप्त युवा सेवा समिति भैरहवाको सहयोगमा सिद्धार्थ रंगशालामा सञ्चालित भएको चित्रांश कप–२०८० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रदेश सरकारले क्रिकेट मात्र नभइ सबै खेललाई संरक्षण गर्ने बताए । उनले भने, ‘लुम्बिनीलाई पनि ध्यानमा राखेर भोलिका दिनमा सिद्धार्थ रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु गर्न सके विश्वका विभिन्न देशका व्यक्ति यो ठाउँमा आउनेछन् र लुम्बिनी पनि पुग्नेछन् । ’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सिद्धार्थ रंगशालाका लागि कम्तीमा रु. १ करोड बजेट छुट्टाएर यसलाइ व्यवस्थित गरिने बताए । उनले रुपन्देही क्रिकेट संघले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । उनले क्रिकेट लगायत विभिन्न खेलमा विजेतासँगै उपविजेताले पनि केही न केही पुरस्कार पाउने हुँदा खेल केही सजिलो भए पनि राजनीतिक क्षेत्रमा (निर्वाचन) मा जित्नेले कुर्सी पाए पनि उपविजेताका लागि कुर्सी नहुने गरेको बताए । 

उनले श्री चित्रगुप्त युवा सेवा समितिले श्री चित्रगुप्त मन्दिरका लागि बजेटको माग गरेकोले निश्चय नै आम नागरिकको प्राप्त करबाट पर्यटन मन्त्रालयको माध्यमबाट बजेट छुुट्टाउने प्रतिवद्धता व्यक्त गरे । 

उनले चित्रांश युथ क्लबले प्रत्येक वर्ष क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै आएको र नेपालले सहभागीता जनाउने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम्तीमा एकजना चित्रांश परिवारको खेलाडीको पनि प्रतिनिधित्व रहने विश्वास व्यक्त गरे ।