
शुक्रवार , मंसिर ८, २०८०
भैरहवा, ८ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वृद्धि गरेको व्यवसाय करको दर संशोधन गर्न यहाँका उद्योगी–व्यवसायीले माग गरेका छन् । शुक्रबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ध्यानाकर्षण गराउँदै उनीहरुले एकीकृत सम्पत्ति करको दरमा संशोधन गरेको नगरपालिकाले व्यवसाय करको दरमा भने संशोधन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आर्थिक मन्दीको बेला व्यवसाय करको दरमा भएको वृद्धिले व्यवसायी मारमा परेको बताए । उनले भने, ‘हाम्रो सदायसतालाई कमजोरी नठानियोस् । धेरैपटक ध्यानार्कषण गराउँदा पनि नगरपालिकाको ध्यान पुग्न नसकेकोले अब आन्दोलनको विकल्प छैन । ’
संघका पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले आर्थिक मन्दीको समयमा व्यवसायीको ढाड सेक्ने गरी नगरपालिकाले व्यवसाय करमा वृद्धि गरेकाले तत्काल करको दरमा संशोधन गर्न आग्रह गरे । उनले नगरपालिकाको विकासका लागि नै व्यवसायीले कर तिरेको बताए । उनले भने, ‘अहिले हामी पीडित छौं । यस्तो संकटमा वृद्धि भएको कर कसरी तिर्ने ? उद्योग व्यवसाय राम्रोसँग चलेको भए समस्या थिएन । तर, अहिलेको अवस्था प्रतिकूल छ । ’
संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले व्यवसायीलाई राहत दिने गरी अगाडि बढ्न नगरपालिकालाई आग्रह गरे । पूर्वअध्यक्ष रामकुमार शर्माले नगरपालिकाले व्यवसायीको पीडा बुझ्न आग्रह गरे । उनले विगत वर्ष भन्दा यस वर्ष धेरै कर बुझाउनुपरेको गुनासो गरे ।
संघका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवाली, सचिव मंगल भण्डारी र कोषाध्यक्ष कमल प्रसाद मरासिनीले अब पनि व्यवसायीले उठाएको मागहरु सम्बोधन नभए नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले व्यवसायीको मागप्रति गम्भिर रहेको बताए । उनले व्यवसायीको जायज मागप्रति आफू सकारात्मक रहेको बताए । उनले व्यवसायीको माग सम्बोधनका लागि कार्यपालिका बैठक बसेर आवश्यक छलफल गरी समाधानमा लाग्ने आश्वासन दिए ।
छलफल तथा ध्यानार्कषण कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij