२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

परनिर्भरताबाट बच्ने प्रयास गर्नुपर्छ : गृहमन्त्री पाण्डेय

आइतवार , मंसिर १०, २०८०

भैरहवा, १० मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले परनिर्भरताबाट बच्ने प्रयास गर्नुपर्ने बताएका छन् । उनले भगवान गौतमबुद्धको पवित्र जन्मभूमिमा बसेका हामी बुद्धका सन्तान भएकाले उहाँको मूल मन्त्र ‘अप्प दीपो भव’ अर्थात आफ्नो दीप आफै बन्नुपर्ने बताए ।

श्री हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको १७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री पाण्डेयले विगतका गरेनन् र आउनेले गर्छन् भन्नुभन्दा सुरुवात आफैबाट गर्नुपर्ने बताए । उनले भने, ‘हामीले एक–अर्काका सहयोग गर्यौं भने निश्चित रुपमा परिवर्तन गर्न सकिन्छ । सोच परिवर्तनको आवश्यकता छ ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विश्वका विभिन्न राष्ट्रहरुले अहिले आर्थिक मन्दीको सामना गरिरहेको बताए । उनले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘जतिबेला नराम्रो समय आउँछ, त्यतिबेला हामी खुसी हुनुपर्छ, त्यसको कारण के हो भने नराम्रो पछि राम्रो अवस्था आउँछ । जब राम्रो अवस्था आउँछ त्यतिबेला सर्तक हुनुपर्छ कि नराम्रो अवस्था नआओस् । ’ मनोबल उच्च राख्न केही व्यक्तित्वहरुले कन्जुस्याई गरिरहेको उनको भनाइ छ ।

मन्त्री पाण्डेयले जीवनमा समस्या आउने र समस्या बिनाको जीवनले कुनै पनि लक्ष्यतर्फ नलैजाने बताए । उनले समस्याको समाधान रहेको र समस्या समाधान गर्न सक्षम रहेको बताए । उनले लुम्बिनी प्रदेश सरकारले सहकारीहरुलाई व्यवस्थित गर्दै लैजाने बताए । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष एवं श्री हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार छेदीलाल श्रीवास्तव, सहकारीका कानूनी सल्लाहकार अधिवक्ता दिलिप कुमार मल्लिक, साथी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दीपक श्रेष्ठ, उत्साहित सहकारीका अध्यक्ष कृष्ण ढुंगाना, प्रवद्र्धन सहकारीका सदस्य तुलसीराम भट्टराई, हिमचुली सहकारीका शेयर सदस्य पर्शुराम पराजुली, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका सचिव गौतम कुमार गुप्तालगायतले बोलेका थिए ।

nm.jpg

श्री हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षता, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता तथा सहकारीका सचिव दीपक घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।