
आइतवार , मंसिर १०, २०८०
भैरहवा, १० मंसिर ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर–१, ठुटीपीपल केन्द्रीय कार्यालयस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा, निर्णय प्रमाणित तथा सपथग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डीबी थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
एकाइगत साधारणसभा सम्पन्न गरेको साकोसले मंसिर ९ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । समुदायमा आधारित टुगा आस्था साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।
५४ जना प्रतिनिधि सदस्य तथा माइन्यूट प्रमाणित प्रतिनिधिको उपस्थितिमा विनियम संशोधित प्रस्तावितसहित १० वटा कार्यसूचीमा रहेको प्रस्तावहरुलाई सर्वसम्मतिले निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले पहिलेका सहकारीहरु सीप ज्ञान बिना सञ्चालनमा हुने गरे पनि अब सहकारी मूल्यमान्यताअनुसार नीति, विधि र प्रविधिअनुसार सञ्चालन गर्न नसकिए जोखिम आउने बताए । उनले टुगा आस्था विकास साकोसले सहकारीको मूल्यमान्यता र विधि प्रविधि अपनाएकोले जोखिम नरहेकोले ढुक्क भएर कारोबार गर्न सकिने बताए ।
कार्यक्रममा विशेष अतिथि डा. खगराज शर्मा, निर्वाचन उपसमिति संयोजक भरतराज भुसाल, निर्वाचन उपसमिति सदस्य भीमबहादुर पुन, ताराप्रसाद छन्तेल, सहकारी अभियन्ता र विभिन्न संघ–संस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि र समिति सदस्यहरु, सेवा केन्द्र संयोजकहरु लगायत उपसमितिहरुको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।
विशिष्ट अतिथि डा. खगराज शर्माले अब सहकारीहरु उत्पादनसँग जोडिनुपर्ने औल्याउँदै लुम्बिनी विशिष्टीकृत सहकारी संघले दुग्ध परियोजनाको उत्पादन गर्न गइरहेकोले टुगा आस्थाले आफ्ना सदस्यलाई लगानी गर्न सुविधा दिएकोले सबै सदस्यलाई लगानी गर्न आग्रह गरे ।
त्यसै गरी टुगा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ता १२ जना, १० जना उत्कृष्ट कारोबारी, ४ जना शैक्षिक सम्मान गरी २ जनालाई विशिष्ट शैक्षिक सम्मान गरेको छ ।
त्यस्तै पीएचडी उपाधि हासिल गरेका शेयर सदस्य डा. शालिकराम भण्डारी, एमफील तहको शिक्षा हासिल गरेका हरिप्रसाद गैरेलाई टुगा विशिष्ट शैक्षिक सम्मानद्वारा सम्मान गरिएको थियो । त्यस्तै चिकित्सा शास्त्रमा एमडी, एमबीबीएस, बीडीएस उत्तीर्ण गरेका सेयर सदस्य तथा सदस्यको छोराछोरीलाई टुगा शैक्षिक सम्मान प्रदान गरिएको थियो ।
त्यसै गरी अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर एवं सेयर सदस्य संजय गुरुङलाई खेलाडी सम्मानसहित केन्द्रीय कार्यालय मर्मत निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत नरबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो ।
सहकारी संस्थाको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा पुनः थापा
संस्थाको अधिवेशनले डीबी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । थापासहित १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको संस्थाको मुख्य प्रबन्धक लक्ष्मण थापाले बताए ।
समितिको उपाध्यक्षमा परसुुराम बास्तोला, सचिव शारदा देवी र कोषाध्यक्षमा लालबहादुर थापा चयन भएका छन् ।
त्यसै गरी सञ्चालक सदस्यहरूमा गोकुल पोखरेल, तुल्सीप्रसाद थारु, धनराज शर्मा, शशिकला गुरुङ्ग, रानुका भण्डारी, भुवन सिंह थापा, चिन्तामणि घर्ती, चन्द्रमाया थापा, चन्द्रावती रायमाझी, जंगबहादुर मल्लाह र थानेश्वर पाण्डे चयन हुनु भएका छन् । निर्वाचन कार्यक्रमले रतनबहादुर भण्डारीको संयोजकत्वमा कृष्ण गुरुङ्ग र बिमला केसी थारु सदस्य रहेको लेखा समिति चयन गरेको छ । निर्वाचित सबै पदाधिकारीहरलाई साधारणसभामा पदस्थापन गराइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij