
सोमवार , मंसिर ११, २०८०
भैरहवा, ११ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सहकारी संस्थालाई व्यवस्थित गर्न संयन्त्र निर्माण भइरहेको बताएका छन् । उनले स्थानीय नेतृत्व चलाएको सहकारी व्यवस्थित भए पनि बाहिरका व्यक्तिहरु स्थानीयस्तरमा आएका सहकारीमा समस्या रहेको बताए ।
शनिबार बुटवलमा भएको श्री धवलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–८, रुपन्देहीको २४ औं साधारण सभामा बोल्दै गृहमन्त्री पाण्डेयले रकम संकलन गर्ने र नकारात्मक सोच भएका केही व्यक्तिहरुका कारण सर्वसाधारणले सास्ती पाएको बताए । उनले सर्वसाधारणबाट बचत संकलन गरी फरार रहेका सञ्चालकहरुलाई कानूनी दायरामा ल्याउन र आम जनताको पैसा फिर्ता गराउनेतर्फ लागेको बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले कोरोना महामारीपछि विश्वमा नै आर्थिक मन्दी आएकोले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले भगवान बुद्धको पवित्रभूमिमा आफूहरु रहेको र बुद्ध व्यक्ति मात्र नभइ विचार भएको बताए ।
मन्त्री पाण्डेयले यही पिढीले परिवर्तन ल्याउँछ भन्ने सोच राख्नुपर्नेमा जोड दिए । आफ्नो ठाउँबाट सबैले दायित्व निर्वाह गर्न सके मुलुक आर्थिक रुपमा समृद्ध बन्न सक्ने बताए । सहकारीहरुलाई अनुगमन गरी सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहकारी संस्थाका संरक्षक तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सहकारीका सल्लाहकार युवराज गिरी, सैनौमैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा, बुटवल उपमहानगरपालिका-८ का वडाअध्यक्ष यज्ञ पंगेनी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द खनाल, संस्थाका उपाध्यक्ष देव प्रसाद खनाल, सचिव ठाकुर घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेल लगायतले सहकारीका बारेमा बोलेका थिए ।
संस्थाका अध्यक्ष गोबिन्द खनालको अध्यक्षता, उपाध्यक्ष देव प्रसाद खनालको स्वागत तथा सचिव ठाकुर घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij