२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै

मंगलवार , मंसिर १२, २०८०

भैरहवा, १२ मंसिर ।
भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १३ गते बुधबार (भोली) देखि कुस्ती प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता मंसिर १३ देखि १५ गतेसम्म (तीनदिन) सञ्चालन हुने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले बताए ।

महोत्सवमा महिला पहलमानको पनि सहभागीता रहने महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । उनले तराई–मधेशमा लोकप्रिय खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता पनि महोत्सवमा आयोजना गरिएको बताए । उनले भने, ‘यसले कुस्ती खेलको संरक्षण र प्रवद्र्धनमा केही भए पनि टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव मंसिर १८ गतेसम्म महोत्सव सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।

महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् ।
त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।