
मंगलवार , मंसिर १२, २०८०
भैरहवा, १२ मंसिर ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुचारु गर्न समन्यवात्मक भूमिका निर्वाह गरिदिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।
मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
संघले ७ बुँदे माग राख्दै पूर्वप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
राष्ट्रिय ध्वजाबाहकको विमान उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडान हुनुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–मलेसिया मात्र नभइ भैरहवा–दिल्ली, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने, विश्वका सबै बौद्धिष्ट मुलुकहरुलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने संघको माग गरेको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरुमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शिघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु. ८० अर्ब भन्दा बढी लगानी भइसकेको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको महसुस गरिएको छ । अहिले बैंकले विभिन्न बहानामा धरपकड गरिरहेको छ । यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल विमान सेवा कम्पनीलाई उडान अवतरण गर्नको लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट सेवा पुनः १ वर्षसम्मका लागि निरन्तरता दिने व्यवस्था गर्न संघले माग गरेको छ ।
‘यस क्षेत्रको तथा देशकै समेत आर्थिक अवस्था चलायमानका लागि टेवा पुग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समेत सहज हुने हुँदा विमानस्थल पूर्ण संचालनको लागि आवश्यक सहयोग तथा समन्वय गरिदिनु आग्रह गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको निजी क्षेत्रको लगानी भए पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए ।
ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्ण सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij