२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

कोटहीमाई गाउँपालिकामा कित्ताकाट सुरु 

शुक्रवार , मंसिर १५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १५ मंसिर ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कित्ताकाट सुरु भएको छ । कित्ताकाटको लागि आवश्यक प्रक्रिया र कागजातहरु गाउँपालिकाले बिहीबार एक कार्यक्रमकाबीच ईलाका मालपोत कार्यालय मझगावाँ र नापी कार्यालय मझगावाँलाई हस्तान्तरण गरेको हो ।

    २०७९ साल जेठदेखि बन्द रहेको कित्ताकाटको आवश्यक प्रक्रिया तथा कागजातहरु शुक्रबारदेखि काम हुने गरी बिहीबार गाउँपालिकामा कागजातहरु हस्तान्तरण गरिएको  हो । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि ईलाका मालपोत कार्यालय मझगावाँका प्रमुख तिलक रावत र नापी कार्यालय मझगावाँका प्रमुख श्यामसुन्दर चौधरीलाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले हस्तान्तरण गरेका हुन् ।
    गाउँपालिका अध्यक्ष त्रिपाठीले गाउँपालिकामा आफ्नो क्षेत्राधिकारभित्रको जग्गा कृषि, व्यवसायिक र आवासीय क्षेत्रतर्फ, औद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदी, खोला, ताल, सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।

    अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछन् । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।’ अब आम नागरिकले सेवा पाउनुको साथै राजस्वमा पनि वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बातए ।