
शनिवार , मंसिर १६, २०८०
भैरहवा, १७ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको लागि दबाब दिन घोषणा गरिएको आन्दोलनका कार्यक्रममा आफू अगाडि हुने बताएका छन् । उनले विमानस्थल सञ्चालनका लागि र्याली, धर्नालगायत आन्दोलनका कार्यक्रममा आफू अगाडि रहने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि सल्लाह–सुझाव बैठकमा बोल्दै मन्त्री पाण्डेयले आफू लुम्बिनी प्रदेशको गृहमन्त्रीका साथै भैरहवाको आम जनता पनि भएको बताए । उनले भने, ‘भारतको दिल्लीका मुख्यमन्त्री केजरीवालले दिल्लीको अधिकारका लागि सडकमा बस्न सक्छन् भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेय पनि विमानस्थल सञ्चालनका लागि सडकमा बस्नुपर्छ । ’ उनले विमानस्थल सञ्चालन गर्न जसरी पनि केन्द्रीय सरकारका नेतृत्व गर्ने व्यक्तिहरुलाई बाध्य बनाउने बताए । उनले प्रदेश सरकार विरुवाको रुपमा रहेको बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले एउटा व्यक्ति मात्र शक्तिशाली भएर एक हजार जनालाई परास्त गर्न नसक्ने उल्लेख गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नु प्रमुख दायित्व भएकोमा जोड दिए । ‘नेपालमा कुनै पनि लक्ष्य प्राप्त गर्न र कुनै कुरा सञ्चालन गर्नको लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आन्दोलन सकारात्मक सोच राखेर गर्नुपर्छ । आन्दोलनले बिगार्ने काम गर्नुहुँदैन, ’उनले भने ।
भगवान गौतमबुद्ध लुम्बिनी जन्मेर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको भन्दै मन्त्री पाण्डेयले बुद्धका कारण निर्माण भएको विमानस्थल बुद्धका सन्तान (हामीहरु) ले सञ्चालन गर्ने बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सरकारले काठमाडौंलाई मात्र देश बुझेको आरोप लगाए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिए । नगरप्रमुख खानले भने, ‘विमानस्थल सञ्चालनका लागि बलिदान गर्ने समय आउन सक्छ ।’ उनले सिद्धार्थ सञ्जालको मागप्रति आफू सकारात्मक रहेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले विमानस्थल सञ्चालन सबैको साझा एजेण्डा बन्नुपर्ने बताइन् । उनले विमानस्थलबारे आफूले पटकपटक सदन र प्रमुख सचेतकहरुको बैठमा राखेको बताइन् ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मंसिर २२ गते भैरहवामा शान्तिपूर्ण र्याली निकालिने बताए । त्यस्तै मंसिर २४ गतेदेखि २५ गतेसम्म आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना बस्ने बताए । उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा अरबौं लगानी डुब्ने जोखिम रहेको बताए ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सबै संघ–संस्थालाई एकजुट भएर समस्या समाधानका लागि सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको बताए ।
नेकपा (एमाले) का नेता भरत कुमार पोखरेलले विमानस्थल निर्माणमा योगदान गर्ने सबैको कदर हुनुपर्ने बताए । उनले राज्यसँगै निजी क्षेत्रको अरबौं लगानी विमानस्थलमा रहेको बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, वडा नम्बर १३ का अध्यक्ष सोम बहादुर गुरुङ, नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेल, एमाले सिद्धार्थनगरका उपाध्यक्ष अर्जुन कुमार गिरी, व्यवसायी अकरम खान, सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ता, वैदिक सनातन धर्म सेवा समितिकी अध्यक्ष विनिता श्रेष्ठ, हिन्दू युवा बाहिनी नेपाल लुम्बिनी प्रदेश सदस्य अम्रिश यादव, नेपाल–भारत मैत्री संघ बेलहिया उपशाखा अध्यक्ष पशुपति प्रसाद कान्दु, नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका अध्यक्ष रामबहादुर बस्नेत, सामाजिक अगुवा विजया खत्री, समाजसेवी दीपक बहादुर कुँवर, देवदह चेम्बर अफ कमर्शका अध्यक्ष कोष बहादुर गुरुङ, भैरहवा मर्निडवाक गु्रपका कार्यबाहक अध्यक्ष बाबुराम केसी, नेपाल इञ्जिनियर्स एशोसियशन लुम्बिनी प्रदेश सभापति ई. शैलेन्द्र प्रसाद श्रेष्ठ, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका निवर्तमान अध्यक्ष गोपाल भण्डारी, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले बोल्दै विमानस्थल सञ्चालन छिटो भन्दा छिटो हुनुपर्नेमा जोड दिए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij