२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

विमानस्थल सञ्चालनका लागि हुने कार्यक्रममा एक पाइला अघि हिंड्ने प्रदेश सांसद्को प्रतिवद्धता

आइतवार , मंसिर १७, २०८०

भैरहवा, १७ मंसिर ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि घोषणा गरिएका दबाबमूलक कार्यक्रममा आफू एक पाइला अघि हिंड्ने प्रतिवद्धता जनाएकी छन् । उनले सिद्धार्थ सञ्जालको मागप्रति आफ्नो ऐक्वद्धता रहेको बताइन् ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण सञ्चालनका लागि भैरहवामा आयोजना गरेको सल्लाह सुझाव बैठकमा उनले भनिन्, ‘यहाँहरुको साथमा छु । यो विमानस्थल सञ्चालन सबैको साझा एजेण्डा बन्नुपर्छ । ’सांसद् के.सी.ले विमानस्थलको बारेमा पटकपटक आफूले सदन र प्रमुख सचेतकहरुको बैठकमा राखेको बताइन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत रहेकी केसीले सरकारमा भए पनि जनताले उठाएको मागमा ऐक्वद्धता जनाउँदै जनताको साथमा आफूहरु रहेको बताइन् ।

उनले सुझाव दिने, आफ्ना कुरा सुनाउने र हिंड्ने तथा अरुको कुरा नसुन्ने परिपाटी भएकाले अरुको कुरा पनि सुन्नुपर्ने बताइन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले शान्तिपूर्ण र्‍याली, विमानस्थल अगाडि धर्ना लगायत विभिन्न दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ । हालसम्म पनि विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनमा नआउँदा राज्य र निजी क्षेत्रको अरबौं लगानी डुब्ने जोखिम रहेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।