
आइतवार , मंसिर १७, २०८०
भैरहवा, १७ मंसिर ।
रुपन्देहीको भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सञ्चालन भइरहेको छ । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा मंसिर ६ देखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा स्टल नम्बर ११८ मा रहेको ए फोर टेनिङ्ग सेन्टर प्रा.लि.मा उपभोक्ताको आकर्षण बढेको छ । ‘बिहानदेखि नै स्टलमा उपभोक्ताको आकर्षण बढेको छ, हामी उत्साहित छौं, ’ए फोर टेनिङ्ग सेन्टर प्रा.लि.की प्रशासन प्रमुख सुनिता पाठकले भनिन् ।’ स्टलमा गुडिया, कुसन, चुरा, माला, औठी, कानको बाली, जुत्ता, ब्याग, अचार, बुटिक (हाते कडाइ) को कपडा, हातले बनाएको रबर ब्याण्ड, हातले बनाएको मोतीको ब्याग, रेशमको धागोबाट बनाएको चुरा, माला, होममेड सेरावाक्स लगायत सामग्री विक्री भइरहेको उनले बताइन् ।
‘ग्राहकको उपस्थिति राम्रो छ, दैनिक १५० देखि २ सय जना हाम्रो स्टलमा आउनुहुन्छ । शनिबारका दिन त यहाँ आउने ग्राहकको संख्या बढेको छ । कारोबार पनि राम्रै छ, ’पाठकले भनिन् । स्टलमा ६ जना कर्मचारी खटिएको उनले बताइन् ।
लुम्बिनी प्रदेश सांसद् समेत रहेकी ए फोर टेनिङ्ग सेन्टर प्रा.लि.की प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.)ले आयोजककोतर्फबाट महिला उद्यमीलाई स्टल दर्तामा ४० प्रतिशत छुट प्रदान गरिएको बताइन् । ‘मेलामा ६ जना कर्मचारी खटिनुभएको छ, म पनि बेलाबेलामा जाने गरेको छु, ’उनले भनिन् । प्रदेश सभा सांसद् भइसकेपश्चात पनि उनी व्यवसाय तथा उद्यमशीलतामा क्रियाशिल छिन् । ‘मैले प्रदेश सभा सदस्य पदको जिम्मेवारी पाएको छु, जनप्रतिनिधि भएर जनताको सेवा गर्ने अवसर पाएको छु, ’सँगसँगै व्यवसाय तथा तालिम सञ्चालनलाई पनि जोड दिएको छु ।
विगतका वर्षका महोत्सवमा पनि ए फोर टेनिड सेन्टर प्रा.लि.ले स्टल राखेको र हस्ताकलातर्फ उत्कृष्ट स्टलको रुपमा पुरस्कृत पनि भएको के.सी.ले जानकारी दिइन् ।
सिद्धार्थनगर-८ बुद्धचोकमा अवस्थित ए फोर टेनिङ्ग सेन्टर प्रा.लि.ले फेसन डिजाइनिङ व्यूटीपार्लर, सिलाईकटाई, ब्याग बनाउने, चुरा, माला बनाउने, बुटिक(हातेकडाई) लगायतका तालिम सञ्चालन गर्दै आएको छ । २०७३ सालमा सञ्चालनमा आएको ए फोरले बेसिक, एडभान्स र डिप्लोमा तहका तालिम सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक के.सी.ले बताइन् ।
‘ए फोर टेनिङ्ग सेन्टरमा तालिम लिएका विभिन्न प्रशिक्षार्थीहरु व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर हुनुभएको छ । कतिपय व्यक्तिहरु प्रशिक्षकको रुपमा तालिम सञ्चालन गर्दै हुनुहुन्छ, उनले भनिन् । विगत २१ वर्षदेखि आफू यो क्षेत्रमा क्रियाशिल भएको के.सी.ले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij