२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

दर्ता बिना ग्रीलजन्य काम गर्न नदिन व्यवसायीको माग

आइतवार , मंसिर १७, २०८०

रुपन्देही, १७ मंसिर । 
व्यवसाय दर्ता नगरी झोलामा मेसिन लिएर घरघरमा गई ग्रील, स्टिल र आल्मुनियमको  काम गर्ने परिपाटीलाई कडाइका साथ नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् । करको दायरामा नआइ हुने कारोबारले राज्यलाई कर तिरेका व्यवसायीहरु मारमा परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार रुपन्देहीमा ग्रील, स्टिल र आल्मुनियमको काम गर्ने २ सय बढीले व्यवसाय दर्ता नगरी राज्यलाई कर छलेर काम गर्दै आएका छन् ।   

ग्रील, स्टिल तथा आल्मुनियम संघ रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा बोल्ने वक्ताहरुले राज्यका निकायहरु उद्योगी–व्यवसायीका समस्याप्रति गैरजिम्मेवार बनेको गुनासो गरे । 

ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अशोक वर्माले अहिलेको आर्थिक मन्दीको कारण निर्माणसँग सम्बन्धित सबै कामहरु ठप्प हुँदा उद्योगी–व्यवसायी समेत विदेश पलायन हुन बाध्य भएकाले यसलाई रोक्न सरकारले उद्योगी–व्यवसायीलाई राहत दिनुपर्ने माग गरे । सरकारले साना उद्योगी–व्यवसायीलाई बचाउन राहत स्वरुप बिना धितो ५ लाखसम्म र ठूला उद्योगीलाई सुलभ ब्याजदरमा ऋण दिनुपर्ने वर्माले माग गरे ।

केन्द्रीय उपाध्यक्ष वर्माले उद्योगीहरुलाई विद्युत महसुलमा छुट दिन, मोतिपुरमा स्थापना हुने औद्योगिक क्षेत्रभित्र ग्रील ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराउन र बिना दर्ता सञ्चालन भएको व्यवसाय बन्द गराउन पनि सरकारसँग माग गरे । ग्रील ग्राम स्थापना हुन सके बजार र वस्तीमा वातावरण प्रदुषण नहुने, शहरी सौन्दर्यता बढ्ने र ग्रील व्यवसाय व्यवस्थित एवं मर्यादित हुने उनले औंल्याए । उनले देशभर ११ हजार बढी ग्रील व्यवसाय सञ्चालनमा रहेको र १ लाख ६० हजार जनाले रोजगारी पाएको बताए । 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायी समस्यामा परेको र व्यापार भन्दा उद्योगमा धेरै समस्या झेल्नुपरेकाले निजी क्षेत्रको सामूहिक प्रयासबाट सरकारलाई समस्या समाधानका लागि दबाब दिनुपर्ने बताए । 

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले सरकारको औद्योगिक विकास बिना देशको विकास नहुने भए पनि सरकारको उद्योगमैत्री नीति नहुँदा उद्योगीहरु अभिभावकबिहीन जस्तो निराश बनेको बताए । 

बुटवल फर्निचर उद्योग संघका अध्यक्ष हरि पराजुलीले ग्रील, स्टिल र आल्मुनियमसँगै फर्निचरमा पनि भारतीय र नेपाली मिस्त्रीले बिना दर्ता काम गर्दा व्यवसायीहरु संकटमा परेको र अस्वस्थ प्रतिस्पर्धा भएको बताए । 

ग्रील, स्टिल तथा आल्मुनियम संघ, रुपन्देहीका अध्यक्ष मोहन भट्टराईले जिल्लामा करिब १५० जना बिना दर्ताका व्यवसाय सञ्चालन हुँदा दर्ता भइ सरकारलाई कर तिरेका व्यवसायी मारमा परेको गुनासो गरे । 

वार्षिक प्रतिवेदन पेश गर्दै भट्टराईले ग्रील जोन र कार्यालय भवनका लागि पहल गरिरहेको, व्यवसायी र कामदार दुर्घटना हुँदा राहत दिन सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको, ठूला परियोजनामा काम गर्न सामूहिक लगानीमा साझेदारी व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए । 

कार्यक्रममा ग्रील डाइरेक्टरी विमोचन गरिएको थियो भने सहयोगी संघ–संस्थालाई सम्मान गरिएको महासचिव ध्रुवमणि ज्ञवालीले बताए । अधिवेशनले बुद्धिप्रसाद गुरुङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।