२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेकपाले बुटवलमा १ लाख २२ हजार जनसहभागिता जुटाउने 

बुधवार , माघ २१, २०७७

भैरहवा, २१ माघ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही (ओली समुह) ले यही फागुन १ गते आमसभामा १ लाख २२ हजार जनसहभागिता जुटाउने निर्णय गरेको छ । क्षेत्र नम्बर ३ को भैरहवामा भएको नेकपा ओली समुहको भेलाले बुटवलको भेलामा व्यापक सहभागिता जुटाउनका लागि निर्णय गरेको नेकपाका केन्द्रीय सदस्य हितराज पन्थीले बताए । 

भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संसद बिघटन गरेर जनतासंग जनमत लिनु भनेको प्रतिगमन नभई अग्रमन भएको बताए । नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका गिरीले सरकारले घोषणा गरेको वैशाख १९ गते र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपालाई दुईतिहाई बहुमत दिएर समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै समाजवादमा प्रवेश गर्न जरुरी रहेको बताए । 

कार्यक्रममा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला कमिटी सचिव विश्वराज बराल (अनुप) ले जनताको माझमा जानु लोकतन्त्रको सुन्दर पक्ष भएको हुनाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई स्वागत गर्दै सबै पार्टी चुनावमा जानुपर्ने बताए । 

केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीको अध्यक्षतामा बसेको पूर्ण बैठकले १९ गतेको सपथग्रहण कार्यमा छुटेकालाई शपथ ग्रहण गराएको छ । त्यसै गरी प्रदेशको पाँचौं बैठकको परिपत्रले निर्देशन गरेका कार्यान्वयन गर्ने निर्णय गरेको नेकपाका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद पन्थीले बताए ।

प्रदेश र जिल्लाको परिपत्रले निर्देशन गरे अनुसार नै यहिी फागुन १ गते बुटवलमा हुन गइरहेको आमसभामा जनसहभागिता जुटाउन क्षेत्र नम्बर ३ का स्थानीय तहलाई परेको जिम्मेवारी अनुसार कार्यपुरा गर्न सबैलाई कामको जिम्मेवारी दिई कार्यविभाजन समेत दिइएको नेकपाका केन्द्रीय सदस्य भरत पोखरेलले बताए । 

केन्द्रीय सदस्य पुरन गुरुङ, केन्द्रीय सदस्य लक्ष्मी कोइराला (भावना), प्रदेश विभाग सदस्य गोबिन्द प्रसाद रेग्मीले प्रधानमन्त्री केपी ओली नै जनताको नेता, राज नेता भएको बताए ।