२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रचण्ड–माधव समूह नेकपा नवलपरासीले निकाल्यो राँके जुलुस 

बुधवार , माघ २१, २०७७

नवलपरासी, २१ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले भोलि (बिहीबार) गर्ने भनिएको आम हड्तालको पूर्वसंध्यामा नेकपा पश्चिम नवलपरासीले बुधबार सांझ सुनवल–१२ भुमहीमा राँकेजुलुस सहितको विरोधसभा गरेको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रतिगमनविरुद्धको संघर्ष समिति पश्चिम नवलपरासीले राके जुलुस गरेको हो । 

राँके जुलुस पश्चात कोणसभालाई नेकपा पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारीले सम्बोधन गरेका थिए । कोणसभामा बोल्दै तिवारीले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमले लोकतन्त्र र प्रजातन्त्रको धज्जी उडाएको बताए । 

‘सरकारले नाटकीय रुपमा सुकुम्बासी आयोग गठन गरी भुमिहिन जनतालाई लालपुर्जा पाउने आशासहितको भ्रम देखाएर चुनाव जित्ने सपनामा ओली नेतृत्वको सरकार अग्रसर रहेको छ’ उनले भने ‘ओलीले षडयन्त्र रुपमा देशलाई निरंकुश दिशातिर धकेल्दै हुनुहुन्छ ।’

राँके जुलुसमा प्रचण्ड–माधव समूह नेकपा र राष्ट्रिय युवा सघ नेपाल नवलपरासीका जिल्ला नेता तथा कार्यकर्ताको सहभागिता थियो । सहभागीले राके जुलुस गर्दै केहीबेर ओली सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।