२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अन्तर्राष्ट्रिय उडान नियमित गराउन एकताबद्ध भएर अगाडि बढ्ने निर्णय

मंगलवार , मंसिर १९, २०८०

काठमाडौं, १९ मंसिर । 
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गर्दै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) लुम्बिनीले यतिबेला काठमाडौंमा छलफल गरिरहेको छ । 

नाट्टा लुम्बिनीको टीमसँगको छलफल पश्चात होटल एशोसियन नेपाल (हान) र नाट्टा केन्द्रले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एकताबद्ध भएर अगाडि बढ्ने गरी निर्णय भएको नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष संजीव जोशीले बताए । 

नाट्टा लुम्बिनीको छलफल पश्चात् होटल एशोसियन नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले भने, ‘भैरहवा विमानस्थल नचलाइ हुँदैन, त्यही विमानस्थल देखेर अरबौं लगानीमा होटलहरु निर्माण भए । कतिपय निर्माणको अवस्थामा छन त कतिपय तयार भइसकेका छन् । ती सबै चलाउन पनि भैरहवाको एअरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुनैपर्छ । ’

छलफल पश्चात् होटल एशोसियन नेपालका पूर्वअध्यक्ष यागेन्द्र शाक्यले भने, ‘भैरहवा विमानस्थललाई अवसरको रुपमा प्रयोग गर्नेतर्फ ध्यान दिनुपर्छ ।’ शाक्यले अगाडि भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चिफ, ट्रान्जिट, चाटर्ड र लुम्बिनी जोडेर प्रचार हुनुपर्याे । हामी व्यवसायीले युनिक सेलिङ प्वाईन्टमा पनि ध्यान दिनुपर्याे ।’

नाट्टा पूर्वअध्यक्ष सिएन पाण्डेले नेपालका पर्यटन व्यवसायीको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण आयोजना तथा गन्तव्य रहेको बताउँदै त्यहाँबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गराउन कति पनि ढिलाइ गर्न नहुने बताए ।

नाट्टा लुम्बिनीको अभियानमा नाट्टा केन्द्रको पूर्ण समर्थन रहेको जनाउँदै नाट्टाका अध्यक्ष रमेश थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल गर्न गराउन जरुरी रहेको बताए । अध्यक्ष थापाले भने, ‘यो विषय नाट्टा लुम्बिनीको चासो मात्रै होइन, सम्पूर्ण पर्यटन व्यवसायीको हो । हामी केन्द्र पनि नाट्टा लुम्बिनीको अभियानमा सँगै छौं ।’

नाट्टा प्रदेशको एक प्रतिनिधि मण्डलले काठमाडौंमा नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदिप अधिकारीलाई पनि ज्ञापनपत्र बुझाएको छ ।

महानिर्देशक अधिकारीको कार्यकक्षमै पुगेर नाट्टाको टीमले जतिसक्दो छिटो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन अनुरोध गरेको हो । ज्ञापनपत्र बुझेपछि अधिकारीले क्यानले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमत सञ्चालन गर्न कुनै कमी नगर्ने प्रतिवद्धता जनाएका छन् ।

नाट्टाको टीमले सोमबार काठमाडौंस्थित एशियाली विकास बैकका नेपाल प्रतिनिधिलाई समेत भेटेर ध्यानाकर्षण गराएको थियो । सो भेटमा नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले एडीबीको लगानीमा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडीबीले पनि सक्रियता देखाउनुपर्नेमा जोड दिए । नाट्टासँगको छलफलमा एडिबिका प्रतिनिधि हेमन्त तिवारीले गौतमबुद्ध विमानस्थलको सन्चालनमा सरकारले नै सक्रियतापूर्वक कदम चाल्नुपर्ने बताए । 

त्यसै गरी एडीबीको नेपालस्थित यातायात विज्ञ भुपेन्द्र चन्द भट्टले नाट्टाको तर्फबाट राखिएको चासोलाई गम्भिरतापूर्वक लिएको बताए । नाट्टा लुम्बिनी टीमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताको लागि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल वायुसेवा निगमलाई ज्ञापनपत्र बुझाएको थियो । सो अवसरमा मन्त्री किराँतीले भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रतिउडान पाँचलाख प्रोत्साहन पुरस्कार दिने तयारी रहेको बताए । उता भैरहवामा रहेका संघ–संस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीले आगामी मंसिर २२ गते भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन व्यापक विभिन्न संघ–संस्थाको सहभागीतामा विमानस्थल अगाडि प्रदर्शन गर्ने सोमबार बिहान पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।

नाट्टा लुम्बिनीले केन्द्रमा छलफल र अन्तरक्रिया बढाइरहँदा र सिद्धार्थ सञ्जालले स्थानीयस्तरमा भैरहवामा आन्दोलन घोषणा गरी संघ–संस्थालाई एकीकृत गराएपछि सरकारलाई भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन थप दबाब सिर्जना हुने देखिएको छ ।