
बुधवार , मंसिर २०, २०८०
भैरहवा, २० मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अहिलेको युग प्राविधिक र सीपमूलक शिक्षाको युग भएको बताएका छन् । उनले प्राविधिक शिक्षा र विभिन्न सीपमूलक तालिमप्राप्त व्यक्तिले दक्ष जनशक्ति बनेर आफूलाई विभिन्न स्थानमा स्थापित गर्न सक्ने बताए ।
खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोधन गाउँपालिका–२ बनगाई, रुपन्देहीको आयोजनामा सुरु भएको आधारभूत एडभान्स तथा टेलरडिजाइनर सिलाईकटाई, व्यूटीपार्लर, डल तथा कुशन, एडभान्स कुक तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले अहिले जति पढे पनि प्राविधिक शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, ‘रुपन्देहीको शुद्धोधन गाउँपालिकाले वार्षिक ३–४ सय जनालाई तालिम प्रदान गरिरहेको छ । यो कार्यकालमा गाउँपालिकाका ७०–८० प्रतिशत व्यक्ति तालिमप्राप्त गर्नेछन् । दक्ष जनशक्ति उत्पादन गर्नु सरकारको लक्ष्य हो । ’ दक्ष जनशक्ति निर्माण गर्न तालिमले सहयोग पुर्याउने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले कुनै पनि काम अरुले गर्छन् र यो मेरो काम होइन भन्ने सोच राख्न नहुने बताए । उनले सामूहिक प्रयास बिना जीवनको लक्ष्य प्राप्त हुन नसक्ने बताए । उनले भने, ‘परनिर्भरताबाट बच्ने प्रयास गर्नुपर्छ । आफ्नो काम आफैबाट सुरु गर्नुपर्छ । ’
भगवान गौतमबुद्धको जन्मस्थल पवित्र भूमि लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा चिनाउनुपर्नेमा उनले जोड दिए । शान्तिका अग्रदुत गौतमबुद्ध व्यक्ति मात्र नभइ विचार भएको उनको भनाइ छ । ‘विश्वमा शान्तिको सन्देश फैलाउने गौतमबुद्धको केही अशं हामीभित्र पनि छ, हामी विशेष छौं । परिवर्तन ल्याउन सक्छौं, ’मन्त्री पाण्डेयले भने ।
लुम्बिनी प्रदेशले २ लाख युवाहरुलाई रोजगारी दिने लक्ष्य दिएको उनले बताए । माननीय मुख्यमन्त्रीज्यूको पहलमा र उहाँको आफ्नै चासोको विषय बनेको छ । मन्त्री पाण्डेयले भने, ‘हामीले स्थानीय उत्पादनलाई ब्राण्डिङ, बजारीकरण गर्ने र त्यसैका माध्यमले जुन जिल्लामा जे उत्पादन हुन्छ त्यसैको बजार व्यवस्थापनको माध्यमले २ लाख युवाहरुलाई रोजगारी दिन्छौं । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij