२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर आत्मबल बढाउँछौं : मन्त्री गुप्ता

बिहिवार , मंसिर २१, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, २१ मंसिर ।
    लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) ले अपांगता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिएर उहाँहरुको मनोबल बढाउने बताएका छन् । उनले विभिन्न अवसरहरुमा पनि अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    फाउण्ड परियोजना, बुटवल कलष्टर द लेप्रोसी मिसन नेपालले बुधबार बुटवलमा आयोजना गरेको रोजगारबिहीन अपांगता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर वार्षिक सिकाइ आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरुलाई प्रदेशबाट पाउने सेवासुविधामा कनै कन्जुसाई नहुने बताउँदै अपांगता भएका व्यक्तिलाई पनि अवसर दिएमा धेरै काम गर्न सक्ने बताए  ।

    उनले भने, ‘अपांगता भएका व्यक्तिहरुलाई हौसला प्रदान गर्नुपर्छ । प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय तपाईहरुको साथमा छ । मन्त्रालयको बजेट कुुनै नेता, मन्त्रीको बजेट होइन । यो नेपाली नागरिकको बजेट हो ।’ संघ सरकारले अधिकार नदिए पनि जनताको लागि सक्दो काम गर्ने प्रयासमा रहेको मन्त्री गुप्ताले बताए । संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई अधिकार दिनुपर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारीको सम्पत्ति छानबीन गर्नुपर्ने बताए । उनले भने, ‘मुलुकमा रहेका सम्पूर्ण संघ–संस्था निष्पक्ष हुनुपर्छ । देशलाई जोगाउन सके मात्र हामीले राजनीति गर्न सक्छौं ।’

    समाजमा बसिसकेपछि एक–अर्कालाई सम्मान र एक–अर्काको दुःखमा सक्दो सहयोग गर्नुपर्ने मन्त्री गुप्ताले बताए । उनले व्यक्ति सफल हुन निरन्तर लाग्नुपर्नेमा जोड दिए ।

    ck mantri.jpg

    फाउण्ड परियोजनाका निर्देशक चिरञ्जीवि शर्माले आफूहरुले गरेको कामले अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि टेवा पुगेको बताए । 

    अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थी, प्रदेश सभा सदस्य कन्हैया बनिया, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै अपांगता भएकालाई समाजमा भेदभाव भन्दा पनि उनीहरुलाई सम्मान गरेर आत्मबल बढाउनुपर्ने बताएका थिए । १  हजार ५ सय जना अपांगता भएका व्यक्तिहरुलाई रोजगारी दिने उद्देश्यसाथ सञ्चालन गरिएको पाँचवर्षे कार्यक्रममा ४ वर्षमै १ हजार ३ सय १४ जनाले रोजगारी पाएर सफलता हासिल गरेको संस्थाका निर्देशक शर्माले बताए । 

    उनका अनुसार परियोजनामार्फत अहिलेसम्म ५ सय २५ जना व्यक्ति विभिन्न संस्थामा कर्मचारीका रूपमा नियुक्त भएका छन् । त्यस्तै ७ सय ९९ जना विभिन्न उद्योगमा कार्यरत छन् । २ सय ४५ जनालाई विभिन्न किसिमको तालिम दिइएको छ । ८ सय ११ जना रोजगारी पाउने क्रममा छन् भने ५ सय ४० जनाको आयस्तर २० प्रतिशतले वृद्धि भएको छ ।  

    द लेप्रोसी मिसन नेपालले राष्ट्रिय अपांग महासंग र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा रोजगारबिहीन अपांगता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर ‘फाउण्ड परियोजना’ २०१९ मा सुरु गरेको छ । परियोजनाको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई रोजगारीमा नियुक्ति गर्नका लागि रोजगारदातामाझ विश्वासको वातावरण निर्माण गर्नुका साथै नेपालमा रहेका अपांगता व्यक्तिहरूका लागि रोजगारीका अवसर बढाउनु हो । यो परियोजना रुपन्देही, काठमाडौँ, मोरङ, ललितपुर र कपिलवस्तु गरी ५ वटा जिल्लामा सञ्चालित रहेको छ ।  

    परियोजनाकी रोजगार परामर्श अधिकृत राधा अधिकारी भट्टराईले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेकी थिइन् ।