images

बिहिवार, बैशाख २० गते २०८१

राजनीतिक दलका प्रतिनिधिहरुले भने–गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्छ

राजनीतिक दलका प्रतिनिधिहरुले भने–गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्छ

images
images
images
बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • राजनीतिक दलका प्रतिनिधिहरुले भने–गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्छ

    भैरहवा, २१ मंसिर ।
    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनको मागप्रति आफूहरुको ऐक्यवद्धता रहेको यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । उनीहरुले विमानस्थल सञ्चालनका लागि हुने दबाबमूलक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    images
    images
    images

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि बुधबार भैरहवामा आयोजना गरेको राजनीतिक दलसँग सल्लाह–सुझाव बैठकमा राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधिहरुले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले कांग्रेसले नगरको विकासका लागि हातेमालो गर्दै अघि बढेको बताए । उनले विमानस्थलको हवाई रुटबारे भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताए । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनका लागि हुने कार्यक्रममा साथ र सहयोग रहनेछ ।’

    नेकपा (माओवादी केन्द्र) का नेता फैज अहमद खानले विमानस्थल सञ्चालनका लागि सरकारलाई निरन्तर घचघचाउनुपर्ने बताए । उनले आन्दोलन नगरेसम्म मागको सुनुवाइ नहुनु बिडम्बना भएको बताए ।

    कांग्रेसका नेता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले उडान नहुने विमानस्थलको के काम भन्दै प्रश्न गरे । उनले आन्दोलनको कार्यक्रम अघि बढाउँदै सरकारसँग वार्ताको ढोका पनि खुल्ला राख्न आग्रह गरे ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका अध्यक्ष सियाराम यादवले सबै एकताबद्ध भएर विमानस्थल पूर्ण सञ्चालनका लागि अघि बढ्नुपर्ने बताए । उनले विमानस्थल सञ्चालन हुनुपर्छ भन्नेमा सबै एकमत रहेको बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेले सिद्धार्थ सञ्जाल, रुपन्देहीको अगुवाइमा हुन लागेको आन्दोलनमा पार्टीको साथ, सहयोग र समर्थन रहेको बताए । उनले सत्ता पक्ष, प्रतिपक्ष भन्नु भन्दा विमानस्थल सञ्चालन सबैको साझा माग भएकाले एकताबद्ध भएर आवाज उठाउनुपर्नेमा जोड दिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगरका अध्यक्ष कृष्ण अर्यालले विमानस्थल सञ्चालनका लागि हुने दबाबमूलक कार्यक्रममा साथ र सहयोग रहने बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले राज्यको निकायले नचाहँदासम्म विमानस्थल सञ्चालन हुन नसक्ने भएकाले राज्यलाई झकझकाउने पर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालन भए सबैलाई फाइदा हुने बताए ।

    नेपाल समाजवादी पार्टीका नेता शोभाकान्त नेपालले एउटा आन्दोलनले मात्र माग पूरा हुन नसक्ने भएकाले चरणबद्ध आन्दोलनमा जानुपर्ने बताए । उनले दबाबमूलक कार्यक्रमप्रति पार्टीको ऐक्यवद्धता रहेको बताए ।
    जसपा सिद्धार्थनगरका उपाध्यक्ष मनोज प्रजापति (महाकाल)ले आफ्नोतर्फबाट आन्दोलनमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

    जनमत पार्टीका केन्द्रीय सदस्य रामअवध गुप्ताले पार्टीकोतर्फबाट आवश्यक सहयोग गर्ने बताए । उनले विमानस्थल सञ्चालन भए भैरहवाबासी मात्र नभइ मुलुकलाई नै फाइदा पुग्ने बताए ।

    नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका अध्यक्ष रामबहादुर बस्नेतले यसअघि नै पार्टीकोतर्फबाट ऐक्यवद्धता जाहेर गरिसकेको बताए ।

    रास्वपा सिद्धार्थनगर सभापति पर्शुराम पराजुलीले राम्रो कामको लागि माग गरिरहँदा विमानस्थल ठप्प पार्दा नराम्रो सन्देश जान्छ कि भन्दै प्रश्न गरे । उनले रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई अग्रपंक्तिमा राखेर आन्दोलन गर्न सुझाव दिए ।

    नेकपा (एमाले) का नेता विश्वराज बराल (अनुप) ले विमानस्थल सञ्चालन मुलुकको विकाससँग जोडिएको बताए । उनले विमानस्थल पूर्ण सञ्चालनका लागि आन्दोलन जरुरी देखिएको बताए ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका सल्लाहकार खिमबहादुर खत्रीले अलगअलग रुपमा आन्दोलन गर्नुभन्दा एकताबद्ध भएर गर्नुपर्ने बताए ।

    सञ्जालका सल्लाहकार डा.शान्त कुमार शर्माले आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि विमानस्थल सञ्चालन गर्नुपर्ने बताए । उनले शान्तिपूर्ण आन्दोलनलाई सफल पार्न आग्रह गरे ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, महासचिव संजय बजिमय लगायतले बोल्दै आन्दोलन गर्नु रहर नभइ बाध्यता भएको बताए ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीको आव्हानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न माग गर्दै प्रर्दशन हुने भएको छ । विगत लामो समयदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका नागरिक, पर्यटन, उद्योग, व्यवसायमा समस्या परेकोले आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । यही मंसिर २२ गते शुक्रबार बिहान ११ बजे भैरहवाको देवकोटाचोकबाट सुरु हुने दबाबमूलक र्याली बुद्धचोकमा पुगेर समापन हुने ज्ञवालीले जानकारी दिए ।

    र्यालीमा सहभागी हुन सम्पूर्ण नागरिक समाज, बुद्धिजीवि, उद्योगी, व्यवसायी, राजनीतिज्ञ तथा सम्पूर्णमा उनले आग्रह गरेका छन् ।  ज्ञवालीले प्रधानमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर माग पूरा गराउन ज्ञापनपत्र दिइसकेको बताए ।

    दबाबमूलक कार्यक्रम अन्तर्गत मंसिर २४ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्ना र मंसिर २५ गतेदेखि विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम सञ्जालले सार्वजनिक गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij