
शुक्रवार , मंसिर २२, २०८०
भैरहवा, २२ मंसिर ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चिनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् । भारतीय दुतावास काठमाडौंले बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत नेपाल साँस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफुहरु पक्की पुल बन्न चाहेको बताएका हुन् । ‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चीनतर्फ गईन, सीता छिमेकी भारततर्फ गइन, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो’ मन्त्री किराँतीले भने ।
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवको उपस्थितिमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकरात्मक नभएकोतर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गरे । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भमा महामहिममार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ’ उनले भने । उनले भारतीय दुतावसले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए ।
लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराँतीले लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा ईट्टा थप गरेको बताए । भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको बताए । साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको बताए । ‘रामको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ, सीताको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ’ मन्त्री किराँतीले अगाडि भने–‘बुद्ध जन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ, महापरिनिर्वाण र ज्ञान प्राप्तीको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ ।’ भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउदा अधुरो हुने मन्त्री किराँतीले बताए ।
मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकाले हिमालय क्षेत्रमा देखा परेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औल्याए । उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चिनि र पानीजस्तै गुलियो रहेको बताए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु हदयेदेश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के.) गुप्ता, लुम्बिनीका पूर्व प्रदेशसभा सदस्य कृष्णध्वज खड्का, प्रदेशसभा सदस्य नीमा गिरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, निजी क्षेत्रका उद्योगी–व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली शास्त्रीय संगीत, थारु नृत्य र अन्य विभिन्न साँस्कृतिक प्रस्तुति राखिएको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर साँस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिए ।
साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो । मण्डलाको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री किराँतीले उद्घाटन गरे । त्यस्तै कार्यक्रम लगतै विभिन्न जातीय परिकारहरु अतिथि र सहभागीहरुलाई चखाइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij