
शुक्रवार , मंसिर २२, २०८०
भैरहवा, २२ मंसिर ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गर्ने बताएका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुक्रबार विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आयोजना गरेको दबाबमूलक कार्यक्रममा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारमा बसेर विमानस्थल सञ्चालनका लागि आन्दोलन गर्ने भन्दै केही मानिसहरुले भनेका छन् । सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गरौंला । माननीय मुख्यमन्त्रीज्यूको अनुमतिले यो कार्यक्रममा आएको छु । उहाँले विश्वासका साथ भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डज्यूलाई पनि विमानस्थलबारे भन्नुभएको छ । नेपालको आर्थिक चलायमान गराउने क्षमता गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलसँग छ । ’
भैरहवाले आन्दोलन गर्दा परिणाम आएको भन्दै शुक्रबारको आन्दोलनमा उत्साहजनक सहभागीता रहेको बताए । उनले दिल्लीको अधिकारका लागि त्यहाँका मुख्यमन्त्री केजरीवालले सडकमा आन्दोलन गर्न सक्छन् भने विमानस्थल सञ्चालनका लागि सन्तोष पाण्डेय पनि सडकमा आएर माग पूरा गराउने बताए ।
उनले एअरपोर्ट सञ्चालन नभए प्रदेश सरकारले नेतृत्व लिने बताए । उनले भने, ‘यहाँहरुलाई भन्न चाहन्छु यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरुले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार दिदैनन् । अब पनि नेतृत्व गर्ने व्यक्तिहरुले काठमाडौं भनेको नेपाल र नेपाल भनेको काठमाडौं भन्छन् भने भगवान बुद्ध जन्मिएको पवित्र ठाउँमा विमानस्थल बनेको र बुद्धका सन्तान अब आएका छन् । जसरी पनि सञ्चालन हुन्छ ।’
मन्त्री पाण्डेयले शान्तिपूर्ण आन्दोलनलाई नमाने प्रचण्डजी देशको नेतृत्व गर्न जंगल जान सक्छन् भने सन्तोष पाण्डेय गृहमन्त्री भएको नाताले आन्दोलनलाई सफल गराउन त्यहाँ जाने सक्ने बताए । उनले एअरपोर्ट सञ्चालनका लागि बलिदान दिन परे भैरहवा पछाडी नपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकार र १२ जिल्लाका व्यक्ति पछि नपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij