
बिहिवार , माघ २२, २०७७
भैरहवा, २२ माघ ।
असंवैधानिक ढंगले सरकारले संवैधानिक आयोगमा नियुक्ति गरी कानून विपरीत सपथ ग्रहण समेत गराएको भन्दै प्रचण्ड–माधव समूहको नेकपाले बिहीबार घोषणा गरेको देशव्यापी आम हड्तालको प्रभाव रुपन्देहीमा पनि परेको छ । आमहड्तालको कारण लुम्बिनी प्रदेशका मुकाम रहेको रुपन्देही सदरमुकाम भैरहवा, धकधई, बेथरी, लुम्बिनी क्षेत्रमा प्रभाव परेको छ ।
प्रचण्ड–माधव समूहको नेकपाका नेताहरु तीर बहादुर रोकाय (डार्विन), जीवलाल अर्याल, कमला थापा, राम बहादुर बस्नेत, नुरजंग, मेराज खानले भैरहवामा आमहड्ताललाई प्रभावकारी कार्यन्वयन गराउन नेतृत्व गरिरहेका छन् । धकधई क्षेत्रमा प्रदीप पाण्डे, राजाबाबु क्षेत्रीले नेतृत्व गरेको सडक आन्दोलनकारीहरुले आमहड्ताललाई शान्तिपुर्ण रुपमा अगाडी बढाएका छन् ।
आमहड्तालको कारण रुपन्देहीमा रहेका कुनै पनि यातयात समितिले लामो तथा छोटो दुरीको सवारीसाधन चलाएका छैनन् । बजार सुनसान छ । यद्यपी व्यवसायीहरुले सरकारी कदमकोविरुद्धमा आमहड्ताल गरिदा कोरोना कहरपछि बल्तल्ल लयमा आउन थालेको उद्योग व्यापार भने झनै समस्याग्रस्त हुन सक्ने भन्दै सामाजिक संजालहरुमा चिन्ता व्यक्त गरेको देखिन्छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले रुपन्देहीमा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको बताए । उनले भने, ‘अहिलेसम्म अवस्था सामान्य नै छ । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij