
शनिवार , मंसिर २३, २०८०
भैरहवा, २३ मंसिर ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले जब संरचना बनाउन सक्छौं भने सञ्चालन गर्न किन सक्दैनौ भन्दै प्रश्न गरेकी छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा भएको शान्तिपूर्ण जनदबाब र्याली तथा विरोध प्रदर्शनपश्चात आयोजित कार्यक्रममा उनले यस्तो प्रश्न गरेकी हुन् ।
प्रदेश सभा सांसद् के.सी.ले विमानस्थल सञ्चालन हुनुपर्ने माग सबैको साझा एजेण्डा भएको र विमानस्थल सञ्चालनका लागि सडकदेखि सदनसम्म आवाज उठाउने प्रतिवद्धता व्यक्त गरिन् । ‘सिद्धार्थ सञ्जाललाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जुन काम नेपाल सरकारले आफै गर्नुपर्ने थियो । त्यही कम गरेर सरकारको आँखा खोलिदिने काम सञ्जालले गरेको छ । साझा माग सम्बोधन गर्नका लागि जनसमुदायले जुन उपस्थिति देखाउनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु’, उनले भनिन् । आफू रुपन्देहीबासी भएको र लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जनता पनि उठ्ने बेला आएको उनको भनाइ छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतक समेत रहेकी सांसद् के.सी.ले भनिन्, ‘हाम्रो सरकार सुतेको छ, सुतेको जस्तो गरेको छ । सरकारलाई उठाउन जरुरी छ । ’
जनताको रगत पसिनाबाट उठेको करबाट अरबौ लगानीमा विमानस्थल निर्माण भएको र विमानस्थल सञ्चालन हुने भनेर व्यवसायीले पनि अरबौ लगानी गरेको उनले बताइन् । उनले जनताको साझा सवालको विषय रहेकोले सरकारले ध्यान दिनपर्नेमा जोड दिइन् ।
हरेक कुरामा राजनीति नगर्न आग्रह गर्दै उनले जनताका लागि काम गर्न आग्रह गरिन् । ‘सदनदेखि सडकसम्म यहाँहरुको सम्पूर्ण आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछु, ’उनले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij