
शनिवार , मंसिर २३, २०८०
भैरहवा, २३ मंसिर ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई रु. २५ हजार नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले स्थापना गरेको ‘एसईई उत्कृष्ट जीपीए पुरस्कार’ अन्तरगत एसईई परीक्षा–२०७९ मा सहभागी गाउँपालिकाभित्रका सामूदायिक विद्यालयहरुतर्फ उत्कृष्ट जीपस्ए ल्याउने एकजना छात्र र एकजना छात्रालाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
परीक्षामा सहभागी छात्रहरुमध्ये कोटहीमाई–५ स्थित श्री मर्चवार आदर्श माध्यमिक विद्यालयका छात्र राजेश कुमार लोधले ३.२० जीपीए र छात्राहरुमध्ये कोटहीमाई–३ स्थित श्री मर्यादपुर माध्यमिक विद्यालयकाकी छात्रा सुमन यादवले ३.१० जीपीए ल्याएको कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्रशासन सहायक मनोहर चौधरीले जानकारी दिएका छन् । उत्कृष्ट दुवै विद्यार्थीहरुलाई गाउँपालिकाले २५–२५ हजार नगद तथा प्रशंसापत्रद्वारा सम्मान गरेको उनले बताए । उत्कृष्ट जीपीए ल्याएका छात्रतर्फ मर्चवार आदर्श माध्यमिक विद्यालय तथा छात्रातर्फ श्री मर्यादपुर माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले युवा पढे मात्र समृद्ध गाउँपालिकाको अनुभुति हुने बताए । अहिलेको पिढीले राम्रो शिक्षा हासिल गर्न सके विभिन्न व्यवसाय सञ्चालन गर्ने, समाजका विकृतिहरु हटाउन सहयोग पुग्ने, सार्वजनिक सम्पत्तिको संरक्षणका साथै भ्रष्टाचारविरुद्ध आवाज समेत उठाउने उनले बताए । गाउँपालिकाले लागू गरेको छात्राहरुलाई साइकल वितरण कार्यक्रमले विद्यालयहरुमा छात्राहरुको संख्या बढन थालेको उनले बताए । शैक्षिक गुणस्तर सुधार्न र छात्राहरुको प्रोत्साहनको लागि साइकल वितरण, समग्र विद्यार्थीहरुको प्रोत्साहनका लागि उत्कृष्ट जीपीए पुरस्कार लगायत विभिन्न योजना लागू गरेको अध्यक्ष त्रिपाठीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij