२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपालमा आर्थिक समृद्धि ल्याउने माध्यम पर्यटन हो : मन्त्री पाण्डेय

आइतवार , मंसिर २४, २०८०

भैरहवा, २४ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जति जे कुरा गरे पनि देशमा आर्थिक समृद्धि ल्याउन सक्ने माध्यम पर्यटन नै भएको बताएका छन् । उनले नेपालमा बुद्ध जन्मस्थल लुम्बिनीसहित पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर लगायत विभिन्न पर्यटकीय क्षेत्रहरु रहेको बताए ।

मंसिर २१ देखि पश्चिम नवलपरासीको सुनवलमा सुरु भएको तेस्रो सुनवल महोत्सव–२०८० अन्तर्गत शनिबार महोत्सवस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘पर्यटकलाई व्यवस्थापन गर्न सक्यौं र सहज रुपमा पर्यटकीय स्थलसम्म पुर्याउन सक्यौं भने देशमा आर्थिक समृद्धि ल्याउन सक्छौं । ’ उनले पर्यटनका माध्यमले सबैभन्दा बढी आर्थिक सम्पन्नता ल्याउन सक्ने प्रदेश लुम्बिनी प्रदेश भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारले बुद्ध सर्किटलाई व्यवस्थित गर्ने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्ने काममा लागिरहेको बताए । उनले देशको नेतृत्व गर्ने व्यक्तिहरुले परनिर्भरतातर्फ लागे पनि नागरिक परनिर्भरताबाट बच्नुपर्नेमा जोड दिए । उनले भगवान गौतमबुद्धको मन्त्र ‘अप्प दीपो भव’ अर्थात आफ्नो दीप आफै बन्नुपर्ने बताए । त्यसो गर्न सके निश्चित रुपमा जीवनको लक्ष्य प्राप्त गर्न सकिने उनको भनाइ छ । मेला–महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन टेवा पुर्याउने बताए । उनले आगामी दिनमा पनि यस्ता महोत्सवमा सहभागीता जनाउने प्रतिवद्धता व्यक्त गरे ।

उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा सुरु भएको सुनवल महोत्सव पुस ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका थिए ।