
बुधवार , मंसिर २७, २०८०
भैरहवा, २७ मंसिर ।
भैरहवामा विश्वास फ्राइ चिकेन ‘बीएफसी’ को दोस्रो शाखा शुभारम्भ भएको छ । गत वर्ष फागुनमा बीएफसीले पहिलो शाखा सिद्धार्थनगर नगरपालिका–१३ स्थित हाटबजारमा शुभारम्भ गरेको थियो ।
सिद्धार्थनगर–९ प्रभातपथस्थित अमृत इन्टरनेशनल होटलको भुइतल्लामा बीएफएसीको दोस्रो शाखा शुभारम्भ गरिएको हो । शाखाको बुधबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख खानले नेपालको पैसा नेपालमै रहोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको बीएफसीको सफलताको शुभकामना व्यक्त गरे ।
उनले भने, ‘यस क्षेत्रका कुखुराको मासुका पारखीलाई स्वादिष्ट र स्वस्थबद्र्धक मासुको परिकार दिएर ग्राहकको मन जित्न सफल हुनुस् । म शुभकामना व्यक्त गर्दछु । ’ उनले व्यवसाय सञ्चालन थालेका व्यवसायीहरुलाई प्रोत्साहन गरे व्यवसायीलाई अगाडि बढ्न थप उर्जा प्राप्त हुने बताए ।
बीएफसीका सञ्चालक पराग दास गोर्खालीले विश्वास एग्रोले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा कोल्ड स्टोर सञ्चालन गरेको बताए । उनले कोल्ड स्टोरको ५ लाख केजी कुखुराको मासु भण्डारण (स्टक) गर्ने क्षमता रहेको बताए । उनले करिब २२ करोड लगानी परियोजना सञ्चालन गरिएको र आगामी दिनमा पक्लिहवामा पनि सञ्चालन गर्ने योजनामा रहेको बताए । सर्वसुलभ दरमा कुखुराको मासुको विभिन्न फ्राइ परिकारहरु बीएफएसीमा उपलब्ध हुने उनले बताए । उनले बीएफसीले ५० जना बढीलाई रोजगारी दिएको जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले समाजको आवश्यकता अनुसार अघि बढ्न सके सफलता प्राप्त हुने बताए ।
सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले सानो पुँजीले पनि राम्रो व्यवसाय सञ्चालन गर्न सकिने बताए ।
सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले युवाहरु विदेश पलायन हुने क्रम बढिरहँदा यहाँ खुलेका व्यवसायले युवाहरुलाई स्वदेशमै रोक्न सहयोग पुर्याउने बताए ।
बीएफएसीका सञ्चालक संजोग दास गोर्खालीको अध्यक्षता तथा समाजसेवी फणिन्द्र पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij