
बिहिवार , मंसिर २८, २०८०
भैरहवा, २८ मंसिर ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालन नहुँदा नागरिक मर्कामा परेको बताएकी छन् । उनले विमानस्थल सञ्चालनमा नआउँदा कतिपय व्यवसायीहरुको गाँस, बास र कपास नै खोसिने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरिन् ।
विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा विमानस्थल अगाडि जारी धर्ना कार्यक्रममा बोल्दै सांसद् के.सी.ले यस्तो बताएकी हुन् । उनले विमानस्थल सञ्चालन गर्नुपर्ने साझा एजेण्डा भएकाले सबै मिलेर अघि बढ्नुपर्ने जोड दिइन् । ‘राम्रो कामलाई राम्रो भन्नुपर्छ, जनताको साझा विषयमा एक भएर अघि बढ्नुपर्छ र बोल्नुपर्छ । साथ र समर्थन गर्नुपर्छ, ’उनले भनिन् । कार्यक्रम सफल बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा सहभागीता जनाउने सबैलाई उनले धन्यवाद व्यक्त गरिन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतक समेत रहेकी के.सी.ले विमानस्थल सञ्चालनको माग गर्दै भइरहेको आन्दोलनप्रति लोसपाको ऐक्यवद्धता समेत रहेको बताइन् । उनले आफूले विमानस्थल सञ्चालनका लागि धेरैपटक सदनमा कुरा राखिसकेको बताइन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको साथ र समर्थन रहेको उनले बताइन् । आम जनताको समस्याको समाधान गर्न लागिपरेको उनको भनाइ छ ।
केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिदा चाहेर पनि जनताका कामहरु अपेक्षित रुपमा गर्न नसकेको उनले बताइन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय सदस्य महेन्द्र यादवले विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदा व्यवसायीदेखि आम सर्वसाधारण पीडित भएको बताए । उनले भने, ‘विमानस्थल सञ्चालन भए निकास पाउँछौं ।’ विगतमा शान्तिपूर्ण आन्दोलन गर्दा विकास पनि अघि बढेको उनको भनाइ छ । विकासका लागि पर्यटन क्षेत्रलाई अघि बढाउनुपर्ने नेता यादवले बताए ।
रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद पराजुलीले भने, ‘एअरपोर्ट चलाउन पाइँदैन भनेर विरोध गरेका होइनौ ऋण लिएर बनाएको एअरपोर्ट चलाउनुपर्छ भनेर कराउनुपरेको छ । अब सशक्त आन्दोलन गर्नुपर्छ ।’
संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुको कमजोरीका कारण विमानस्थल सञ्चालन हुन नसकेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगरका सभापति पर्शुराम पराजुलीले निर्माण भइसकेको विमानस्थल सञ्चालन गर भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।
समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले जसरी पनि विमानस्थल सञ्चालनमा ल्याउनैपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका उपाध्यक्ष शार्दुल मयूर कसौधनले विमानस्थल सञ्चालनमा आए सबैलाई फाइदा पुग्ने बताए ।
साहित्यकार वनमाली निराकारले विमानस्थल सञ्चालनमा सरकारको ध्यान जानुपर्ने बताए ।
भैरहवा मर्निङ्गवाक ग्रुपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले नचलाउने भए विमानस्थल किन बनाएको भन्दै प्रश्न गरे । समाजसेवी कुमार केसीले सरकार किन निरीह र मौन छ भन्दै प्रश्न गरे ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका सल्लाहकार खिम बहादुर खत्रीले माग पूरा नभएसम्म आन्दोलन अघि बढ्ने बताए ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का उपाध्यक्ष राम मिलन यादवले अब प्रत्येक संघ-संस्थाका प्रतिनिधि मात्र नभइ कार्यसमितिसँगै सम्पूर्ण साधारण सदस्यहरुलाई पनि आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
सिद्धार्थनगर विश्वकर्मा महिला समाजकी अध्यक्ष हिरा बरालले सरकारले आवाज नसुने दबाबमूलक कार्यक्रम जारी रहने बताइन् ।
विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा मंसिर २२ देखि भैरहवामा आन्दोलन सुरु भएको छ । जसअन्तर्गत आइतबारदेखि विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना सुरु गरिएको सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij