images

आइतवार, बैशाख १६ गते २०८१

बुटवल मेलामा ‘स्मार्ट सुरक्षा’ व्यवस्थाको तयारी

बुटवल मेलामा ‘स्मार्ट सुरक्षा’ व्यवस्थाको तयारी

images
images
images
बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • बुटवल मेलामा ‘स्मार्ट सुरक्षा’ व्यवस्थाको तयारी

    बुटवल, २८ मंसिर । 
    रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गर्न लागेको मेलामा स्मार्ट सुरक्षाको प्रबन्ध मिलाउने गरी तयारी अघि बढेको छ । मेला आयोजक रुपन्देही व्यापार संघले दिएको जानकारी अनुसार मेलालाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट सुरक्षाको प्रबन्ध गर्न लागिएको हो । यसका लागि संघले सुरक्षा निकायसँग छलफल समेत गरिसकेको छ । 

    images

    रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुस ५ गतेदेखि १८ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला हुँदैछ । 

    मेला आयोजक मूल समितिका संयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रबन्ध मिलाउन सबैप्रकारका उपाय अवलम्बन गर्ने निर्णय भएको जानकारी दिए । ‘मेलालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सुरक्षाका सबै उपाय अपनाइने छ ’उनले भने ।

    घिमिरेले सुरक्षा व्यवस्थालाई गम्भिरतापूर्वक लिदै त्यसका लागि सुरक्षाकर्मीसँगको समन्वय र परिचालन, सिसी क्यामराको जडान र सूचनाको राम्रो प्रवन्ध गर्ने योजना तय भएको बताए । उनले मेला आयोजनाका क्रममा मानवीय तथा भौतिक संरचनाका साथै मेलामा राखिएका औद्योगिक उत्पादनहरुको सुरक्षाको प्रबन्ध गर्ने क्रममा कुनै पनि कमी हुन नदिन प्रतिवद्धता व्यक्त गरे । 

    संघका कार्यालय प्रमुख सरोज पोखरेलले मेला अवधिभर आम दर्शक उपभोक्ता एवं स्टल सहभागीहरुको सुरक्षा व्यवस्थालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा जिल्लामा रहेका सुरक्षा निकायहरुसंग छलफल गरिएको जानकारी दिए ।

    मेलामा आन्तरिक र वाह्य सुरक्षाको व्यवस्थालाई कडाई गर्दै मेलामा कुनै प्रकारको कानुनविपरीतका क्रियाकलाप गर्न छुट नदिने गरी मेला आयोजक र सुरक्षा निकायबीच समन्वय गरिने भएको छ । 

    मेला सञ्चालनका क्रममा अवलोकनकर्ता तथा सहभागी स्टलधनीहरुको सबैप्रकारका सुरक्षाको प्रवन्ध मिलाउने दायित्व आयोजकको रहेको हुँदा त्यसमा सुरक्षाकर्मीहरु सहयोगी बन्ने प्रतिवद्धता सुरक्षा निकायका प्रमुखहरुले व्यक्त गरेका छन् । उनीहरुले मेला मर्यादित र व्यवस्थित बनाउन प्रविधिको प्रयोगमा जोड दिएका छन् । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेलाको सुरक्षा प्रबन्धका लागि एकीकृत सुरक्षाको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । उनले स्मार्ट सुरक्षाको तयारी गर्न समेत आग्रह गरे । अर्यालले भने, ‘नयाँ सोंच र योजनाका साथ आयोजना गर्न लागिएको मेलाको सफलताले यस क्षेत्रको समग्र विकासमा सहयोगी बन्न सक्छ ।’

    संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले मेला सबैको साझा कार्यक्रम भएका कारण सफल बनाउन सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताए । ‘मेलामा सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायको सबै प्रकारको सहयोग जरुरी छ’ उनले भने । 

    संघका पूर्वअध्यक्ष टंकप्रसाद पोखरेलले मेलाको राम्रो सुरक्षा प्रबन्धले मेला सफलतामा सहयोगी भूमिका निर्वाह गर्ने बताए । संघका निर्वतमान अध्यक्ष यमलाल लोहनीले हिजोका दिनमा आयोजना गरिएका मेला महोत्सवमा प्रहरी प्रशासनको सहयोगले कुनै अप्रिय घटना नभएको स्मरण गराउँदै प्रहरी प्रशासनबाट यसपटक पनि सोही प्रकारको सहयोग पाउने विश्वास व्यक्त गरे ।ु

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर वि.क.ले सुरक्षाकर्मीले गर्ने काममा कसैबाट व्यवधान नहुने तर संविधान र कानूनले वर्जित गरेका कुनै पनि प्रकारका काम तथा प्रदर्शन गर्न नपाइने हुँदा त्यसमा सचेत बन्न आग्रह गरे । उनले शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने सबै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए । 

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले मेला अवधिभर ट्राफिक व्यवस्थापनमा आवश्यक प्रक्रिया र प्रबन्ध मिलाउने दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । 

    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक हिमालय श्रेष्ठले आयोजकले आफ्नो आन्तरिक रुपमा मिलाएको सुरक्षाको प्रवन्धमा आफुहरुले सहयोग पुग्ने गरी सुरक्षा निकायका अंगहरुले भूमिका निर्वाह गरिदिने बताए ।

    ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले मेला अवधिभर कुनै पनि प्रकारका दुर्घटना हुन नदिन र मदिरा सेवन एवं विक्री तथा जुवा खेलाउने जस्ता काम गर्न पूर्ण प्रतिबन्ध लगाउनेतर्फ आयोजकले ध्यान दिनुपर्ने बताए । 

    संघका संघका वरिष्ठ उपाध्यक्ष तथा मूल आयोजक समितिका सह–संयोजक डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारीले सुरक्षा निकाय लगायत सबै क्षेत्रको सहयोगमा मेला शान्तिपूर्ण रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij