
बिहिवार , मंसिर २८, २०८०
भैरहवा, २८ मंसिर ।
लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको १३ औं अधिवेशन–२०८० का लागि प्रयास खड्काको नेतृत्वमा स्वतन्त्र प्यानल घोषणा गरिएको छ । संघको अधिवेशन यही मंसिर ३० गते शनिबार हुँदैछ ।
बिहिबार भैरहवामा घोषणा सभा गरी स्वतन्त्र प्यानल घोषणा गरिएको हो । उक्त प्यानलबाट प्रथम उपाध्यक्षमा डण्डपाणी पाण्डे, द्वितीय उपाध्यक्षमा रामरतन गुप्ता, महासचिवमा प्रितम रौनियार, कोषाध्यक्षमा रोशन खनाल, सचिवमा महेश कुमार दुवे र सह–कोषाध्यक्षमा पवन मिश्रले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका खड्का हाल संघमा महासचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।
घोषणा सभामा बोल्दै खड्काले स्वतन्त्र प्यानल समावेशी प्यानल भएको बताए । उनले भने, ‘संस्था पार्टीगत रुपमा अघि बढ्नु हुँदैन भनेर हामीले उम्मेदवारी दिदैछौं । निर्माण व्यवसायीका समस्या समाधान गर्न हामी लागिपरेका छौं र निरन्तर लाग्नेछौं ।’
घोषणासभामा बोल्दै महासचिव पदका उम्मेदवार प्रितम रौनियारले व्यवसायीको मर्म बुझेको बताए । उनले भने, ‘संस्था र निर्माण व्यवसायीको हकहितमा काम गर्दै आएका छौं ।’
संघका पूर्वअध्यक्ष बलराम शर्माले स्वतन्त्र प्यानल टीम जुझारु र युवा भएको बताए । उनले यो प्यानलमा रहेका निर्माण व्यवसायीहरुको सक्षमताका कारण निरन्तर संस्थामा विभिन्न जिम्मेवारी निर्वाह गरिरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij