२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान : पहिलो चरणको निर्माण कार्य सकियो

शुक्रवार , मंसिर २९, २०८०

भैरहवा, २९ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा व्यक्तिगत रूपमा लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन थालेको ६ महिनामा पहिलो चरणको निर्माण कार्यसम्पन्न भएको छ । अष्ट्रेलियामा बस्दै आएका गुल्मीका विनोद कुँवरले तिलोत्तमा नगपालिका–१७ स्थित पूर्व दरखसवामा साढे ५ बिगाह जग्गामा एकल लगानीमा क्रिकेट मैदान बनाउँदैछन् ।

एक्स्ट्राटेक अन्तर्राष्ट्रिय ओभल क्रिकेट मैदान नाम राखिएको यो काम पूरा गर्न उनी २ महिनायता कर्मभूमि छाडेर नियमित रूपमा मैदानमा क्रियाशील छन् । यो मैदानका लागि जग्गाबाहेक ४० करोड लगानी लाग्ने कुँवरले बताए । यो लगानी चरणबद्ध रूपमा लगाउने र समयमै पूरा गर्ने कुँवरले बताए ।

nm.jpg

२०८० जेठ २९ गते शिलान्यास भएको मैदानको ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको एक्स्ट्रा ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले बताए । उनका अनुसार २ वर्षअघि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । कुँवरले फागुन १ गतेदेखि मैदानमा खेल्न सकिने र यसमा गुणस्तरमा कुनै कमी नहुने दावी गरे । नेपालमा क्रिकेट खेल्नका लागि पूर्वाधारको कमी आफूले देखेकै कारण यसरी लगानी गरेको उनले बताए ।

Rangsala Tilotamma.jpg

यो मैदान नेपालमा अहिले भएका सबै क्रिकेट मैदानभन्दा आधुनिक र प्रविधिमैत्री हुने र यसमा आन्तरिक प्रशिक्षणलाई समेत सामेल गरेर लैजाने योजना रहेको कुँवरको भनाइ छ । मैदानको दिगोपनाका लागि आफूहरू एकेडेमी सञ्चालन गरेर आर्थिक पाटोलाई व्यवस्थापन गर्ने सोच रहेको उनले बताए ।

कुँवरले क्रिकेटमा त्यहाँको उदाहरण दिँदै जति धेरै क्रिकेट मैदान तयार भयो त्यति धेरै खेलाडी उत्पादनमा जोड मिल्ने बताए । उनले भने, ‘मैले विदेशमा समयको महत्व र गुणस्तरीय काम कसरी छिटो सक्नुपर्छ भन्ने उदाहरण यहाँ प्रस्तुत गर्न खोजेको हुँ । रातदिन नभनी हाम्रो टीमले काम गरेको छ ।’ प्रबन्ध निर्देशक कुँवरले केही न केही विश्वास दिलाएकोले खुसीको अनुभुति भएको बताए । ‘कसैलाई चुनौती दिन काम गरेको होइन, सरकारलाई सहयोग गर्न चाहेको छु । हामी सबै मिलेर देशका लागि केही गरौं,’ उनले भने ।

nmji.jpg

उनका अनुसार असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य सुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्म्याइएको छ । मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाइएको छ । साइड स्क्रिनको यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।

‘माघबाट दोस्रो चरणको काम सुरु हुनेछ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको ५ हजार क्षमताको निर्माण कार्य सुरु गरिनेछ । चैतबाट साइडको सानो मैदानको काम पनि सुरु हुनेछ । जहाँ प्रशिक्षण गर्न मिल्नेछ, ’उनले भने ।

अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य सुरु हुनेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एक्स्ट्राटेक ओभलका चिफ अप्रेटर सुदिक्षा गौतम, मैदान निर्माणको अपरेशन पक्षको जिम्मा सूर्य कुँवरले गरेका छन् ।

युएईमा लामो समय बसेर आबुधावीको शेख जायेद अन्तराष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सातवटा पीच तयार भएको र पीचलाई ७० मिटरको बाउण्डरी दिन सकिने गरी तयार भएको बताए । पीचको गुणस्तर निक्कै उत्कृष्ट भएको उनको भनाइ छ ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा एक्स्ट्राटेकका ब्राण्ड एम्बेसडर शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर सञ्चालन हुने जानकारी दिए । रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने र टेष्ट मान्यता पाउन प्रत्येक प्रदेशमा एक मैदान आवश्यक पर्ने बताए।
खेलको पूर्वाधार विकास गर्न सके धेरै उत्कृष्ट खेलाडी उत्पादनमा बल पुग्ने भएकाले सबै प्रदेशमा यसप्रकारका मैदान तयारी गर्नुपर्ने गौचनको सुझाव छ ।

रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले भने, ‘क्रिकेटलाई महत्व दिएर ठूलो लगानी गर्नुभएको छ । यो गर्वको कुरा हो । रुपन्देही क्रिकेट संघबाट सक्दो सहयोग हुन्छ । ’ उनले पूर्वाधार विकासको आधार तयार भइरहेको बताए । पछिल्लो समय पीएम कप पहिलो पटक काठमाडौं बाहिर आयोजना गर्ने अवसर पाएको भन्दै यो प्रतियोगिताको १० खेलमा भैरहवामा हुन लागेको बताए ।

नेपाल क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेल क्षेत्रमा सबैको समन्वयलाई जोड दिनुपर्ने सुझाव दिँदै पूर्वाधार विकासमा प्रकियागत कारण नै काममा ढिलाइ हुने गरेको दुःखेसो गरे । उनले यति छिटो काम हुन सक्दो रहेछ भन्ने कुरा यो रंगशाला निर्माण कार्यले प्रमाणित गरेको बताए । उनले भने, ‘विनोदजीले सात समुन्द्र पार बसेर पनि नेपालको क्रिकेट खेलको विकासका निम्ति लागिपर्नुभएको छ ।’

njkk.jpg

खेलकुद विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले निजी स्तरबाट लगानी भएर बने पनि प्रदेश खेलकुद परिषद्ले यसलाई आफ्नो सम्पत्तिको रुपमा लिएको बताए । खेल विकासको आधार नीति नियम, पूर्वाधार विकास र खेलकुद गतिविधि मुख्य ३ खम्बाका रूपमा रहेको बताउँदै उनले कुनै एउटा पक्ष बिना विकास अघि बढ्न नसक्ने धारणा व्यक्त गरे । उनले निजीस्तरबाट लगानी गरेर निर्माण गरेर सरकारलाई ठूलो सहयोग भएकाले प्रदेशबाट गरिने प्रतियोगिताको लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।