
शनिवार , मंसिर ३०, २०८०
भैरहवा, ३० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले आज दुःख पाइरह्को बताएका छन् । उनले भ्रष्टाचार रहेको मुलुक कहिल्यै माथि नलाग्ने बताए।
नेकपा (एस) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम अधिवेशनलाई शनिबार भैरहवामा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले भने, ‘जहाँ भ्रष्टाचार छ, त्यो मुलुकमा रोजगारी सिर्जना हुँदैन, त्यो मुलुकमा स्थिरता, नियम र कानून केही लागू हुँदैन । भ्रष्टाचारले रोजगारी सिर्जना हुन दिदैन । उद्योग, व्यवसाय, कृषि र उत्पादन क्षेत्रको विकास हुन दिदैन । ’ मुलुकले अहिले सुशासन र रोजगारी खोजेको र सुशासन र रोजगारी भएको मुलुक अगाडि जाने उनको भनाइ छ ।
पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले सही नेतृत्व र विचार भएको पार्टी आवश्यक रहेको बताए । उनले भने, ‘विचारको हिसाबले हामी ठीक ठाउँमा छौं । अब एउटा कमी छ, नेकपा (एस)लाई ठूलो पार्टी बनाउनुपर्छ । आम जनताको बीचमा हामीले देशका लागि के सोचेका छौं, त्यो बताउनुपर्छ । पार्टीको राजनीतिक एजेण्डा दुनियाका सामू बनाउनुपर्छ । ’ राजनीतिलाई ठीक ट्रयाकमा ल्याउन सके १५–२० वर्षमा मुलुक कार्यापलट हुन सक्ने उनको भनाइ छ ।
महासचिव भुसालले पार्टी ठूलो मात्र भएर नहुने बताए । उनले केपी ओली नेतृत्वका कारण मुलुकले दुःख पाएको आरोप लगाए । उनले भने, ‘ओलीको कारण मुलुकको राजनीतिमा भूकम्प आयो । अहिले पनि पराकम्प आइरहेका छन् । बैंकको ऋण नतिर्नेले तर्साइरहेका छन् । ’
त्यस्तै नेकपा (एस) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले मुलुकमा भएका साधनस्रोतको सदुपयोग हुन नसकेको बताइन् । उनले अहिले देशबाट युवाहरु विदेश पलायन हुने क्रम बढ्दो रहेको बताइन् ।
पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज बाबुलाल यादवले राजनीतिमा सक्षम नेतृत्व नभए गन्तव्यमा पुग्न नसकिने बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज उमा काफ्लेले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न नीति बनाउन आवश्यक रहेकोमा जोड दिइन् ।
पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य कमल भण्डारीले नेकपा (एस) सबैको पार्टी भएको दावी गरे ।
नेकपा (एस) लुम्बिनी प्रदेश सदस्य आनन्द प्रसाद गुप्ताले पार्टीले अनियमिता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जाने बताए ।
नेकपा (एस) रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादवले मुलुकमा परिवर्तन हुन्छ भनेर राजनीतिमा लागेको बताए ।
नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता, पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनले शार्दुल मयुर कसौधनको अध्यक्षतामा ३५ सदस्यीय सिद्धार्थनगर कमिटी सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५३ जना नेकपा (एस) मा प्रवेश गरेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij