२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

श्री बहुउद्देश्यीय सहकारी संस्थाको ३५ औं साधारणसभा

आइतवार , पौष १, २०८०

तिलोत्तमा, १ पुस । 
श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा–५ मणिग्राम, रुपन्देहीले १० जना नयाँ शेयर सदस्य थप गर्ने शेयर सदस्यले लिएको ऋणको ब्याजमा साढे २ प्रतिशतका दरले छुट दिने प्रस्ताव पारित गरेको छ ।

सहकारी संस्थाको शनिबार समपन्न ३५ औं वार्षिक साधारणसभाले जेष्ठ शेयर सदस्यलाई गर्दै आएको सम्मान कार्यक्रमलाई जारी राख्दै २०८० असार मसान्तसम्म ८० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई सम्मान स्वरुप वार्षिक वृद्ध भत्ता रु.२ हजार दिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै सहकारी संस्थाले चालु आर्थिक वर्षको मुनाफाबाट शेयर रकमको १४ प्रतिशत बराबरले हुन आउने बोनस वापतको रकम शेयर सदस्यहरुलाई प्रदान गरेको छ । राष्ट्रिय सहकारी बैंकमा रु. १ लाख बराबर शेयर लगानी गरेको सहकारी संस्थाले २०८० असार मसान्तसम्म रु. १६ करोड ४१ लाख ३ हजार ९ सय ३ लगानी गरेको छ भने आर्थिक वर्ष २०७९/८० को अन्तमा संस्थामा रु. २ लाख २६ हजार ५ सय ७  स्थिर सम्पत्ति रहेको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कार्यवाहक अध्यक्ष होम प्रसाद पौडेलले महिला शेयर सदस्य सुत्केरी हुँदा १ पटकलाई प्रसुति सम्मान रकम रु. ३ हजार प्रदान गर्ने र नवजात शिशुको खाता अनिवार्य गर्ने, विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमलाई निरन्तरता दिने, शेयर र वचत रकमको अनुपात मिलाउन बचतमा रहेको रकमको १५ प्रतिशत रकम शेयर पुँजी कायम गरिएको र शेयर सदस्यहरुहरुको १ लाख बराबरको सामूहिक दुर्घटना बीमा र सामान्य मृत्युमा रु. २५ हजार राहत रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिए ।

कार्यक्रममा सहकारी संस्थाका सल्लाहाकार रोमणी प्रसाद पाठकले मुलुकमा उत्पन्न विषम परिस्थितिका बावजुद सञ्चालकहरुको कुशल व्यवस्थापनका कारण शेयर सदस्यहरुलाई उचित प्रतिफल दिन संस्था सफल भएको बताए । उनले समग्र सहकारी संस्थाहरुप्रति अविश्वासको वातावरण सृजना भइरहेको अवस्थामा पनि यस सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १४ प्रतिशत लाभांश वितरण गरेर आफ्नो साख जोगाउन सफल भएको बताए ।

कार्यबाहक अध्यक्ष होम प्रसाद पौडेलको अध्यक्षता तथा सदस्य डोलराज बस्यालको सञ्चालनमा भएको साधारणसभामा संस्थाका सल्लाहाकार प्रेम बहादुर भण्डारी, निवर्तमान अध्यक्ष किशोर कुमार क्षेत्री, शेयर सदस्य प्रकाश कुमार नेपाललगायतले आ–आफ्ना धारणा राखेका थिए । साधारण सभामा ७० वर्षमाथिका शेयर सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

२९४ पुरुष, २७५ महिला र संस्थागत सदस्य १ गरी ५७० शेयर सदस्य रहेको सहकारी संस्थाको साधारणसभाले लेखा सुपरीक्षण समितिका संयोजक चिरञ्जिवी बस्यालले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको अनुमानित रु.२ करोड ३३ लाख १६ हजार बराबरको आय–व्यय र अध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।