२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले भने : मुल पार्टी यही हो

शुक्रवार , माघ २३, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नै नेकपाको मुल पार्टी भएको दावि गरेका छन्।

नेकपाका अध्यक्ष ओलीले काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै सभामा सहभागि नागरिकलाई देखाउदै कार्यक्रममा सहभागि नागरिकले नै आफ्नो पार्टी मूल पार्टी भएको दाबी प्रस्तुत गरे। 

जनसभामा भएको उपस्थितिले नै मूल पार्टी भएको पुष्टि गरेको प्रधानमन्त्री ओलीले जनाए। ‘‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई ठाउँ ठूलो हुन्छ, हामीले जहाँ छाने पनि सानो हुन्छ, पश्चिमतर्फ सञ्चयकोषभन्दा टाढासम्म, यहाँबाट त्रिचन्द्र कलेजसम्म र जय नेपालभन्दा परसम्म मान्छे खाँदाखाँद छन। तर पनि सोधिरहेका छन, मूल पार्टी कुन हो?,’’ नारायणहिटी प्रांगणबाट प्रधानमन्त्री ओलीले भने, ‘‘अझै पनि अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ, मूल पार्टी यही हो जहाँ तपाईं हामी छौं।’’

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गर्दै भने ‘‘यो नै देशको मूल पार्टी हो, देशकै सबैभन्दा ठूलो पार्टी हो, देश बनाउने पार्टी हो, देशको रक्षा गर्ने पार्टी हो, देशको स्वाधीनताको रक्षा गर्ने र ठीक ढंगले अगाडि बढाउने पार्टी पनि यही हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘लोकतन्त्रका लागि सात दशकभन्दा बढी लडेको पार्टी हो, लोकतन्त्र ल्याउनका लागि सबैभन्दा अहम भूमिका खेलेको पार्टी हो, देश बनाउने संकल्प बोकेको पार्टी हो, सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा बोकेको पार्टी हो।’’

ओलीले संविधान निर्माण र लोकतन्त्रका लागि लामो संघर्ष गरेकाले पनि मूलधार पार्टी आफ्नो भएको थप दाबी प्रस्तुत गरेका छन्। ‘‘यो नै मूल पार्टी हो भनेर अब पनि बताइरहनुपर्छ र? यो उपस्थितिले नै आफैं प्रमाणित गरिसकेको छ,’’ उनले भने।