२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पर्यटन र शान्तिका लागि भैरहवा–लुम्बिनी ‘बौद्ध सञ्चार पदयात्रा’

शनिवार , पौष ७, २०८०

भैरहवा, ७ पुस ।
मानिस घुम्न चाहन्छ, त्यसका लागि शान्त र मनमोहक ठाउँ खोज्छ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी उत्तम मानिन्छ, जहाँ भगवान् गौतमबुद्धको जन्म भएको थियो । त्यही शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मिएको स्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ ।

भैरहवा र आसपासमा रहेका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसरमा शुक्रबार भैरहवा–लुम्बिनी मौन पदयात्रा गरेको हो । २२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए । ‘ शान्तिमार्गीहरु लुम्बिनी आउनुपर्छ, यहाँबाट विश्व शान्त छ भन्ने सन्देश दिनुपर्छ र शान्तिको बाटो अवलम्बन गर्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो’, उनले भने ।

भगवान बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । बुद्ध जीवनीसँग जोडिएकाले पनि मौन पदयात्रालाई धेरैले रुचाए । ‘सधैं कापीकलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्ने मात्रै होइन,, पत्रकारले शान्तिको सन्देश फैलाउनुपर्छ, शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन प्रयास गर्नुपर्छ भन्ने पनि बौद्ध संचार यात्राको उद्देश्य हो’, रायमाझीले भने, ‘पदयात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ उर्जा थपेको महसुस हाम्रो छ ।’

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारा दिएको बौद्ध संचार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वःस्फूर्त खादामाला र टीकाले स्वागत गरे । बुद्ध धुनको गुन्जनसँग मौन यात्रा गर्न पाउँदा सहभागी निकै हर्षित भए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले बौद्ध सञ्चार यात्राले फेरि एकपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको जनाए । ‘सञ्चार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिन सक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्तिमार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ’, उनले भने । उनले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गरे । उनले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुलाई खुशीको कुरा भएको जनाए ।

‘अब अर्का बुद्ध जन्मिने सम्भावना छैन, लुम्बिनी अरु कसैले बनाउन पनि सक्दैन, त्यसैले शान्ति खोज्नेहरुका लागि यो एउटा उद्गम थलो हो’, उनले भने, ‘आजका जस्ता कार्यक्रमले लुम्बिनीमा सबै धर्ममा आस्था राख्नेलाई गोलबद्ध गर्नसक्छ, लुम्बिनी ल्याउन सक्छ ।’ उपाध्यक्ष डा.लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्धस्थलहरुमा पनि हुनुपर्ने जनाए । यसका लागि विकास कोषले आवश्यक सहयोग र सहकार्य गर्ने जनाए । उनले लुम्बिनी विश्वभर रहेका अर्ब बढी बौद्धमार्गीको आस्थाको केन्द्र र संसारभरका सबै मानिसको साझा थलो रहेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको जनाए । 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभुति हुने जनाए । उनीहरुले पदयात्रा र शान्तिको सन्देश दिन तथा पर्यटन प्रबद्र्धनका लागि प्रेस क्लबले खेलेको भूमिका सह्रानीय रहेको जनाए ।

pad yatra (3).jpg

बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख दीपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ लगायतले रिवन काटेर बौद्ध सञ्चार यात्राको सुरुवात गरेका थिए । पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो ।

pad yatra (9).jpg

यो बीचमा मायादेवी गाउँपालिकाको बेथरी र सेमरी–सुण्डीमा स्थानीयले स्वागत गरेका थिए । लुम्बिनीस्थित पर्साचोकमा पर्यटन व्यवसायी, स्थानीय आमा समूहले स्वागत गरे । मायादेवी परिसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए ।