
आइतवार , पौष ८, २०८०
भैरहवा, ८ पुस ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालले स्थानीय समाजसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय समाजको योगदान महत्वपूर्ण रहेको बताए ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, रुपन्देहीको प्रथम अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष अर्यालले भने, ‘जहाँ भन्सार कार्यालय हुन्छ, त्यहाँ स्थानीय समाजको अत्यन्तै महत्वपूर्ण योगदान हुन्छ । विभिन्न संघ–संस्था, सम्बन्धित निकायले स्थानीय समाजलाई साथमा लिएर जानुपर्ने अवस्था हुन्छ । ’
बेलहिया गाउँ समाजले साथ, सहयोग गरेको आफूले अनभुति गरेको उनले बताए । उनले राजस्व संकलन र राज्यलाई सहयोग गर्ने कार्यमा अघि बढिरहेको बताए । पेशालाई मर्यादित र व्यवस्थित बनाउन लागिपरेको उनको भनाइ छ । उनले राजस्व संकलनमा सदैव तत्पर रहने बताए ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एजेन्ट शब्द हटाएर भन्सार सहजकर्ता राख्न सुझाव दिए । उनले भने, ‘आज तपाईहरु नहुने हो वा देश बाहिर हुनुभएको अवस्थामा एकचोटी कल्पना गर्नुस्, त्यही काम गर्न सरकारले कति जनशक्ति लगाउनुपर्छ । यहाँहरुले राज्यलाई सहयोग गर्नुभएको छ । ’उनले सधै निराशाका कुरा मात्र गरेर नहुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले एक–दुईजनाले गलत गर्यो भन्दैमा सबैलाई बदनाम गर्न नहुने र गलत गर्नेलाई साथ दिन नहुने बताए । उनले उद्योग व्यवसाय रहे मात्र राष्ट्र बच्न सक्ने भएकाले सरकारले उद्योग व्यवसाय सञ्चालन गर्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख नरेन्द्र चौधरी, राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल विराटनगरका वरिष्ठ उपाध्यक्ष नवलकिशोर उपाध्याय, भन्सार एजेन्ट परिषद वीरगंजका अध्यक्ष प्रदीप कुमार उपाध्यायलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देही तदर्थ समितिका अध्यक्ष सुर्य नारायण अर्यालको अध्यक्षता, राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालको प्रमुख आतिथ्यता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशिष्ट आतिथ्यता, भन्सार एजेन्ट परिषद नेपाल रुपन्देही तदर्थ समितिका सचिव देवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij