
सोमवार , पौष ९, २०८०
बुटवल, ९ पुस ।
बुटवल संख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको सम्पन्न १० औं अधिवेशनले कृष्णप्रसाद अर्यालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ । शनिबार सम्पन्न २५ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले अर्यालको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा माया गौतम, सचिवमा नरबहादुर रजाली, कोषाध्यक्षमा कृष्णप्रसाद अर्याल (ख) लाई सर्वसम्मत रुपमा चयन गरेको छ । सहकारीको सदस्यहरुमा शान्तिलाल बज्राचार्य, माधव रेग्मी, मोहन भण्डारी, पदम पौडेल, तेजेन्द्र खनाल, भिमलाल भण्डारी, सरला भण्डारी र लेखा संयोजकमा लुंगलाल शाक्य चयन हुनु भएको निर्वाचन समितिका संयोजक डिल बहादुर थापाले जानकारी दिए ।
इन्द्रेणीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीहरु बचतमा मात्र सीमित नरहेर सीपमुलक, आयमूलक तथा उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने सुझाव दिए । उनले धेरै सहकारीहरु बचत तथा ऋणमा मात्र सक्रिय रहेको बताउँदै सहकारीले शिक्षा, स्वास्थ्यका क्षेत्रमा उदाहरणीय कार्य गर्नुपर्ने बताए ।
उनले केही आगन्तुक सहकारीहरुले गरेको बदमासीका कारण अन्य सहकारीहरुलाई हेर्ने दृष्टिकोण पनि फरक भएकाले बुटवलमा आउने आगन्तुक सहकारीहरुलाई घरबहालमा दिदा घरधनीलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरे । थोरैथोरै रकम जम्मा गरेर उज्वल भविष्य खोजेका शेयर सदस्यहरुलाई अफ्ठ्यारोमा पार्ने गरी आर्थिक अपचलन गर्ने सहकारीलाई कारवाही गर्न सुरु गरिएको समेत उनले बताए ।
इन्द्रेणी सहकारीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष खगराज शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचन, सहकारीका संरक्षक भुपालकुमार श्रेष्ठ, पुर्वअध्यक्ष मित्रबहादुर शाक्य, शिललाल राना, लेखा संयोजक मोहन भण्डारी, विरगाथा सहकारीका अध्यक्ष राजबहादुर थापा, नारी सहकारीका अध्यक्ष गंगा गुरुङ, त्रिविका प्राध्यापक जिवलाल सापकोटा, शेयर सदस्य शारदा पंगेनीलगायतले इन्द्रेणीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
संस्थाका सचिव माया गौतमको संचालन तथा उपाध्यक्ष कृष्णप्रसाद अर्यालको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी १० करोड ४९ लाख ९७ हजार, जगेडा तथा कोष ४८ करोड ६९ लाख ९ सय ५१, निक्षेप दायित्व ४१ करोड २ लाख ५४ हजार ९३८ र कर्जा लगानी ४८ करोड ३४ लाख ४४ हजार रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij