२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पेलिङमा कञ्चजंघा विन्टर टुरिजम फेस्टिबल–२०२३ सुरु

सोमवार , पौष ९, २०८०

सिक्किम, ९ पुस ।
२३ औं कञ्चजंघा विन्टर टुरिजम फेस्टिबल–२०२३ सिक्किमको पर्यटकीय स्थल पेलिङमा सोमबारदेखि सुरु भएको छ । पेलिङ टुरिजम डेभलपमेन्ट एशोसिएनसको आयोजना र जिल्ला प्रशासन कार्यालय गेझिङ्गको सहयोगमा सुरु भएको फेस्टिबल डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ । फेस्टिबलमा सिक्किममा रहेको विभिन्न जाति र संस्कृति झल्किने ४९ वटा स्टलहरु राखिएको छ । 

फेस्टिबलको उद्घाटन गर्दै भारतको सिक्किम सरकारका सामाजिक विकास मन्त्री सन्चित खरेलले सिक्किमका युवाहरुलाई रोजगारी वा जागिर खोज्न नभइ पर्यटन उद्योगमा लागेर रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरे । उनले पेलिङ लगायत सिक्किमका पर्यटकीय क्षेत्रहरुको विकासका लागि राज्य सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

सिक्किमलाई समृद्धशाली बनाउने क्षेत्र भनेकै पर्यटनको विकास भएको उल्लेख गर्दै मन्त्री खरेलले पर्यटकीय गन्तव्य तथा पूर्वाधार विकासका लागि सरकारले विशेष ध्यान दिने बताए । 

सिक्किम सरकारका सीप विकास मन्त्री भीम हाङ लिम्बुले सरकारले पेलिङ मात्र होइन सिंगो सिक्किमलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न चाहेको बताए । कोरोना महामारी र हालै टिष्टा नदीमा हिमताल फुटेर आएको बाढी तथा पहिरोले पर्यटन क्षेत्रको विकासलाई प्रभावित गरेको भएपनि सरकारले उच्च प्राथमिकता दिई काम गरेकाले अहिले सुधार भएको मन्त्री लिम्बुले चर्चा गरे । पर्यटन क्षेत्र सधै विकासको उचाईमा बढिरहने उल्लेख गर्दै मन्त्री लिम्बुले भने, ‘अहिले बनिरहेको रोप-वे, चिल्ड्रेन पार्कलगायतका पूर्वाधारले पेलिङ अझ उचाइमा पुग्ने विश्वास छ । ’

पेलिङ पर्यटन विकास एशोसिएसनका अध्यक्ष नारायण खतिवडाले सिक्किममा पर्यटन विकासका लागि आवश्यक पूर्वाधारहरुको विकास उच्चस्तरमा भइरहेको भए पनि पर्यटक ओसार्ने हवाई सेवा, रेल वे सेवाहरु एक दशक अघिकै अवस्थामा हुनु भने दुःखको विषय भएको बताए । 

WhatsApp Image 2023-12-25 at 5.04.16 PM.jpeg

उद्घाटन समारोहमा नौमति बाजा, नेवा गुठी गेझिङ्गको लाखे नाच, केरल गित, पेलिङ गित, तामाङ सेलो, सिंह नाच, शेर्पा नाच, लोप्चा नाच लगायतका नेपाली लोक संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो । 
फेस्टिबलमा रहेका स्टलमध्ये चौथो स्टलमा नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका प्रतिनिधिहरु र चितवनका पत्रकारहरु राजेश घिमिरे, बद्री अर्याल र प्रविन श्री बरालले बुद्ध जन्मस्थल लुम्बिनी तथा पर्यटकीय नगर चितवनको बारेमा प्रवद्र्धन गरिरहेका छन् ।