
शनिवार , माघ २४, २०७७
बुटवल, २४ माघ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले बुटवलस्थित औद्योगिक क्षेत्र मुलुककै नमूना र आधुनिक औद्योगिक ग्राम बन्ने बताएका छन् । मोतीपुरस्थित प्रादेशिक औद्योगिक कोरिडोरको शिलान्यास गर्नु पूर्व बुटवल औद्योगिक क्षेत्रमा आवश्यक सम्पुर्ण पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिने अध्यक्ष बस्नेतले बताए।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले डिमान्ड चार्ज, जग्गा भाडा लगायतका समस्या निकट भविष्यमै समाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको बताए । कोभिड–१९ महामारीको समयमा गरिएको लकडाउनको समयमा भाडा छुट गर्ने निर्णय भइसकेको र केही कुरा अड्किएकोले अर्को बोर्ड बैठक बसेपछि त्यसको समेत समाधान हुने उल्लेख गर्दै बस्नेतले विद्युत डिमान्ड चार्जको पनि समस्या समाधान हुने उद्योगी व्यवसायीलाई आश्वासन दिए ।
बजेटको सुनिश्चितता भए मोतिपूर औद्योगिक क्षेत्र पनि छिट्टै शिलान्यास हुने कुरा उल्लेख गर्दै अध्यक्ष बस्नेतले निकट भविष्यमै मुलुकभरका सबै नयाँ औद्योगिक क्षेत्र शिलान्यास गरिने बताए । वर्तमान सरकारले औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखेको भन्दै बस्नेतले यसअघि घोषित देशभरका सबै औद्योगिक क्षेत्र यसै आर्थिक वर्ष भित्र शिलान्यास गर्ने योजना रहेको जानकारी समेत गराए ।
करिब ८ सय विगाहा जग्गामा साना ठुला गरी १ हजार उद्योगहरु स्थापना गर्ने लक्ष्यसहित निर्माण गर्ने योजना बनाइएको रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा रकमको सुनिश्चितता नभएकै कारण शिलान्यासको काम रोकिएको उनले प्रष्ट पारे । मोतीपुर औद्योगिक कोरिडोर शुरु गर्दा धेरै स्वदेशी र विदेशी उद्योगपति तथा विज्ञहरुको आगमन हुने र बुटवलको औद्योगिक क्षेत्र सबैभन्दा पहिला उनीहरुको आँखामा पर्ने भएकाले यसको सौन्दर्यकरण आवश्यक रहेको भन्दै यसका लागि बजेटको चिन्ता नगर्न र अन्य व्यवस्थापन कार्यमा सघाउन उद्योगीहरुलाई उनले आग्रह समेत गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, संघका पूर्व अध्यक्ष तिलप्रसाद भट्टराई, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी लगायतले उद्योगी र औद्योगिक क्षेत्रका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।
अध्यक्षमा पुन : हिरामणी भट्टराई निर्विरोध
यसैबीच बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुनः हिरामणी भट्टराई निर्वाचित भएका छन् । संघको १९ औं वार्षिक साधारणसभा तथा १० अधिवेशनबाट अध्यक्षमा भट्टराई सहित सम्पुर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यमलाल खनालले बताए ।
अधिवेशनबाट संघको उपाध्यक्षमा उपेन्द्र अग्रवाल, महासचिवमा नेत्र नारायण भण्डारी, कोषाध्यक्षमा प्रज्वल थान्जु, सचिवमा कमल ज्ञवाली र कार्यसमिति सदस्यहरुमा सुमन बस्याल, यादव भण्डारी, रामप्रसाद खनाल र कौशलराज भण्डारी निर्विरोध निर्वाचित भएको खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij