२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

आशावादी हुन व्यवसायीलाई रुपन्देहीका सिडिओ अर्यालको सुझाव

शुक्रवार , पौष १३, २०८०

  • 865
    Shares
  • 865
    Shares
  • बुटवल, १३ पुस । 
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले उद्योगी–व्यवसायीलाई निराशाका मात्रै कुरा नगरी आशावादी हुन आग्रह गरेका छन् ।

    उद्योग व्यापार संघ बुटवलले प्रमुख जिल्ला अधिकारीसँग आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभइ विश्वव्यापी समस्या भएकाले यो समस्या केही समयपछि हटेर राम्रो अवस्था आउनेमा आशावादी बन्न सुझाए । समस्या र निराशाका कुरा मात्र गरेर देश बन्न नसक्ने भएकाले आशाको सञ्चार गर्न निजी क्षेत्रका संघ–संस्था लाग्नुपर्नेमा प्रजिअ अर्यालको जोड थियो । 

    खुला सीमा नाकाबाट हुने राजस्व छली नियन्त्रण, रात्रीकालीन बजार सञ्चालन, सामान आयातमा रहेका करका समस्या समाधानमा आफू सधै सकारात्मक रहे पनि एक्लो प्रयासले मात्र नहुने भएकाले सबैको सहकार्य हुनुपर्ने बताए । 

    सो अवसरमा नेपाल उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजीको संरक्षण, औद्योगिकरण र व्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए । 

    कृषि, जलविद्युत र पर्यटनमा लगानीमैत्री वातावरण बनाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र व्यापार घाटा नियन्त्रण गर्नुपर्नेमा महासचिव पराजुलीले सरकारको ध्यानाकर्षण गराए । 

    संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले चर्को बैंक ब्याजदर, अर्थतन्त्रमा मन्दी लगायतका समस्याले उद्योगी–व्यवसायी संकटमा परेकाले सरकारले राहत प्याकेज ल्याउनुपर्ने  बताए । 

    बुटवल उपमहानगरपालिकाले संघको सचिवालय भवनका लागि जग्गा उपलब्ध गराउन सहजीकरण गरेपछि भवन शिलान्यास भइसकेकाले आगामी २ वर्षमा २ तले भवन निर्माण गर्नुपर्ने बताए । 

    संघका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उद्योगी–व्यवसायीका समस्या सुन्ने, निजी क्षेत्रसँग सहकार्य गरेर जानुपर्छ भन्ने मान्यताका रहेकाले सहज र सच्चा अभिभावक पाएको महसुस भएको बताए । 

    सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महासचिव यमलाल मरासिनीलगायतले उद्योगी–व्यवसायीका समस्या सम्बोधन गरी व्यवसायीमैत्री वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीको पनि ठूलो भूमिका हुने बताए ।