२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

उद्योगीहरुलाई युरोसिक्स र उर्जा दक्षता तालिम

शनिवार , पौष १४, २०८०

बुटवल, १४ पुस ।
रुपन्देहीका उद्योगी तथा त्यहाँ कार्यरत कर्मचारीहरुलाई युरोसिक्स र उर्जा दक्षता तालिम आयोजना गरिएको छ । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका अटोमोवाइल सम्बन्धी उद्योग/अटो वर्कसपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि मंसिर १८ देखि पुस ११ गतेसम्म सञ्चालन भएको ९६ घण्टे युरोसिक्स भेहिकल टेक्नोलोजी विषयक तालिम समापन गरिएको छ । 

त्यसै गरी ४८ घण्टाको ऊर्जा दक्षता विषयक सीप अभिवृद्धि तालिम शुक्रवार समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

युरोसिक्स मेडिकल टेक्नोलोजी विषयक तालिम बुटवल अटो इन्जिनियर्स एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता र अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेको विशिष्ट आतिथ्यता र रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद पराजुलीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

शुक्रबार सम्पन्न उर्जा दक्षता विषयक तालिम रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता र द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री र इन्स्योर परियोजनाका प्राविधिक अफिसर नरेश सिंह थारुको आतिथ्यता सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरी सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्योगीहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गरी नयाँ प्रविधिको उचित उपयोगका लागि यस्ता तालिमले योगदान पुर्याउने बताइन् । उनले अहिलेको प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्तिका लागि यस्ता सीप विकासका तालिमको महत्वपूर्ण योगदान रहने बताइन् ।

रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले संघ अन्तर्गत लुम्बिनी प्रदेशस्तरमा उद्योगमा कार्यरत पेशाकर्मीहरुका लागि विभिन्न विषयमा सीप अभिवृद्धि तालिमहरु संघमार्फत सञ्चालन भइरहेकोे जानकारी दिए । उनले रुपन्देही उद्योग संघले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको प्राविधिक सहयोगमा बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन अटो मोबाइल वर्कसपमा कार्यरत कामदारहरुका लागि सीप अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको बताए । उनले आगामी दिनहरुमा संघले उद्योगमा रहेको जनशक्तिलाई आवश्यक पर्ने तालिमको पहिचान गर्ने र सम्बन्धित विषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै तालिमहरु संचालन गर्ने लक्ष्य राखेको जनाए ।

बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक जनशक्तिलाई बदलिदो नयाँ प्रविधिको परिवेशमा समयानुकुल सीप अभिवृद्धि गर्दै दक्ष जनशक्तिको उत्पादन हुनु समयको माग रहेको भनाइ राख्दै तालिमको लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघलाई धन्यवाद दिए ।

२० जना सहभागीहरुको सहभागीता रहेको तालिममा दक्ष प्रशिक्षकद्वारा दैनिक ४ घण्टा (२४ दिन) सम्म ञ्ंचालन भएको थियो । समापन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खड्गबहादुर गौतम, प्रेस सल्लाहकार दामोदर खनाल र एसोसिएसनका पदाधिकारी, सदस्य, इन्स्योर प्रतिनिधि प्राविधिक अफिसर नरेश सिंह थारु र रुपन्देही उद्योग संघ सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालको समेत सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन एसोसिएसनका महासचिव ध्रुवराज भुसालले गरेका थिए ।

शुक्रवार सम्पन्न उर्जा दक्षता तालिमको समापनको अवसरमा कार्यक्रमका अध्यक्ष तथा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उत्पादनमूलक उद्योगमा कम लागतमा उत्पादन बढाउन सके तालिमको उद्देश्य पूरा हुने जानकारी दिए । उनले सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीहरुलाई उत्प्रेरित गरेका थिए । उनले सम्बन्धित पेशामा सिप अभिवृद्धि हुन सके तालिमले सार्थकता पाउने जनाए । १८ जना सहभागीहरुको सहभागिता रहेको यो तालिममा दक्ष प्रशिक्षकद्वारा दैनिक ४ घण्टा (१२ दिन) सम्म सञ्चालन भएको थियो भने कार्यक्रम सञ्चालन रुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराइले गरेका थिए ।